

महेन्द्रनगर । कैलालीको खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले महिलामाथि हातपात गरेका छन् । कैलालीको टीकापुर नगरपालिका–७ हुलाकी राजमार्गको खैरीपुर चेक पोष्टमा उनले एक महिलामाथि हातपात गरेका भन्दै प्रहरीमा निवेदन परेको हो ।

टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहले चेक पोष्टमा शुक्रवार साँझ डिउटीमा रहेका पन्तले हातपात गरेको भन्दै निवेदन दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रवारको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो ।
उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ ।
