

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडाका सबै जन्मदेखि ५ वर्ष मुनिका सबै बालबालिकाले खोप लगाएका छन् । वडामा खोप लगाउने उमेर समूहका तीन सय हाराहारी बालबालिका छन् ।
ती सबै बालबालिकालाई खोप लगाइएको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज शिवराज बुढाले जानकारी दिए ।
‘हाम्रो ८ नम्बर वडामा ५ वर्ष मूनिका तीन सय हाराहारी बालबालिका छन्, ती सबै बालबालिकालाई खोप लगाएका छौ, यो अवधिमा जे जे खोप लगाउनु पर्ने हो, ती सबै लगाएका छौ । हाम्रो खोप शत प्रतिशत नै छ’ उनले भने ।

आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी मिना विष्टले खोप लगाएको तथ्याङ्क नगरपालिका कार्यालय पठाई सकेको बताइन् ।

वडाभित्रका सबै बालबालिकालाई खोप लगाउन घरधुरी सर्भेक्षण, घरदैलो लगायतका कार्यक्रम गरिएका थिए । दोधारा चाँदनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता एबम् दिगोपना नगरपालिका घोषणा गर्ने तयारी छ ।
पूर्ण खोप सुनिश्चितता एबम् दिगोपनाका लागि सोमबार ८ नम्बर वडामा सरोकारवालासंग योजना तर्जुमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज बुढाले खोपको अवस्थाबारे जानकारी गराए । जनज्योति माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ ।
वडा अध्यक्ष ओमप्रकाश रोकाया, वडा सदस्य भरत नेपाली, वडा स्तरीय स्वास्थ्य व्यवस्थान समितिका सदस्य, महिला स्वास्थ्य स्वयम् सेविका सहभागी भएका छन् ।
कार्यक्रममा सहभागी वडा स्तरीय स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष रमेश रोकायाले आफूले गोष्ठीमा पाएको भत्ता रकम महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई दिएको समाजसेवी रमेश बस्नेतले जानकारी दिएका छन् ।

