

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ । शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान ११ बजे भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।
दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा पशुचौपाया क्षती भने नभएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
