

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक नतिजा अनुसार कञ्चनपुरका तीन विद्यालयको एसईई नतिजा शुन्य आएको छ । पुनर्वास नगरपालिका एक र लालझाडी गाउँपालिकाका दुई विद्यालयको नतिजा शुन्य आएको छ । लालझाडीका दुई विद्यालयमा गत वर्ष पनि एसईई नतिजा शुन्य आएको थियो ।
गत वर्ष लालझाडी सहित जिल्लाभर ८ विद्यालयको नतिजा शुन्य आएको थियो । त्यसमा भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयको पनि शुन्य नतिजा थियो ।

लक्ष्मी माविले यस वर्ष सार्वजनिक नतिजा अनुसार एसईईमा सुधार गरेको छ । विद्यालयबबाट ६ जना उत्तीर्ण भएका छन् । विद्यालयबाट १९ जना एसईई परीक्षामा सहभागी भएका हुन् । यो ३१ दशमलव ५७ प्रतिशत हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र सिह साउँदले वर्ष एसईई नतिजा सुधार भएको बताए ।
‘यो वर्ष १९ जना विद्यार्थी सहभागी भएकोमा ६ जना उत्तीर्ण भएका छन्, यो गत वर्षको तुलना गर्दा निकै सुधार आएको छ’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिले गत वर्ष शैक्षिक सत्र सुरु भएपछि एसईई सुधारको प्रयास थालेको थियो ।
शिक्षक, विद्यार्थी र अभिभावक केन्द्रित छलफललाई वर्षभरि निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउँदले बताए ।
‘विद्यालय व्यवस्थापन समितिको तर्फबाट मैले पटक पटक अध्यक्ष पढाई सम्बन्धित अभिभावक र विद्यार्थीसंग अन्तरक्रिया गरे, त्यसबाट आएका राय सुझावका आधारमा अघि बढ्यौ’ उनले भने ।
विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले एसइईका लागि अतिरिक्त कक्षा र ट्युसन कक्षा सञ्चालन गरिएको बताए ।
‘अतिरिक्त कक्षा र ट्युसन दुबैमा जोड दिएका थियौं’ उनले भने ।

यस वर्ष पुर्नवास नगरपालिकाका दुई विद्यालय र लालझाँडी गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।
लालझाँडी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । एसइई परीक्षामा सो विद्यालयबाट ३६ परीक्षार्थी सहभागी भएकोमा नतिजा भने शून्य आएको पालिकाको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए ।
लालझाँडी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आठ विद्यालयबाट २ सय ६० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उक्त पालिकामा ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले अङ्ग्रेजी र गणित विषयमा अत्यधिक विद्यार्थी फेला भएका बताए ।
विद्यालयमा विषयगत शिक्षकको अभाव लगायत विविध कारणले नतिजा शून्य आएको उनले बताए । विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव रहेको उनले बताए । शिक्षक, अभिभावक, विद्यार्थी सबैले सुधार गर्दे जानुपर्ने आवश्यकता देखिएको उनले बताए ।
पुर्नवास नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ विद्यालय रहेका छन् । जहाँ वडा नम्बर १ अंशुवर्माबस्तीको शान्ति मावि र पुरैनास्थित रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गर्न नसकेको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए ।
शान्ति माविबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तर उनीहरूको नतिजा भने शून्य आएको हो ।
परिक्षाफल शून्य आएपछि अभिभावकहरूले भने शिक्षकहरू राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरि विकले शिक्षकहरूले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिए ।
विद्यालयको तथ्याङ्क अनुसार ३६ विद्यार्थीले एप्लस, ६०विद्यार्थीले ए, १७ विद्यार्थीले बि प्ल र १विद्यार्थीले बि ग्रेट ल्याएका छन ।

