
अझै भेटिएनन् सुख्खा बन्दरगाह निर्माण स्थलबाट हराएका रुख, ,चोरी हुने डरले कटान गरिएका रुख पिपरिया ल्याएर घाटगद्दी

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ स्थित प्रस्तावित सुख्खा बन्दरगाह स्थलबाट चोरी भएका रुख अझै भेटिएका छैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने सुख्खा बन्दरगाह स्थलबाट छपान गरिएका ९ रुख गायब भएका थिए ।
सुख्खा बन्दरगाह क्षेत्रमा एक हजार पाँच सय ९३ रुख कटान गरिएका छन् । ती रुख पनि चोरी हुने डरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरिया पोष्टमा ल्याएर घाटगद्दी गरिएको छ ।
सुख्खा बन्दरगाहका लागि वन क्षेत्रको ४१ हेक्टरका एक हजार ७ सय २ रुख काटनु इआए प्रतिवेदनमा उल्लेख थियो ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले रुख कटानको काम सकिएपछि फिल्ड खाली भएको बताए ।
उनले अहिले पनि सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ ।

गजुरेलका अनुसार रुख कटानको काम सकिए पनि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचारबाट जानकारी गराइसकेको छ । अब परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पत्राचार हुनेछ।
भारसित पत्राचार भएपछि शिलान्यास भएर निर्माण प्रक्रिया अघि बढाउने तयारी छ । भारत सरकारले नेपालीसित भएको समझदारी अनुसार तीन अर्ब ८० करोडमा ठेक्का गरेको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ ।
भारतसित आयात निर्यात बृद्धिका लागि दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउन लागिएको हो ।
सुक्खा बन्दरगाहका लागि महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण गरिएको छ ।
पहुँचमार्गको केही भाग कालोपत्र हुन बाँकी छ । गड्डाचौकी क्षेत्र र पुलको वारी पारी केही क्षेत्र अझै कालोपत्रे हुन सकेको छैन ।
भारततर्फ पनि राष्ट्रिय राजमार्गको जोगबुडा पुलबाट आकाशे पुलदेखि सडक निर्माणको काम चलिरहेको छ।
सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएपछि इन्टरमोडल यातायात विकास समितिले पनि निर्माणस्थलमा कर्मचारी पठाउने तयारी गरेको छ। कार्यालय नै स्थापना गरेर कर्मचारी खटाइने कार्यकारी निर्देशक गजुरेलले बताए ।
