
झलारीका जोशीलाई ठक्कर दिएर मार्नेलाई जोगाउन खोजिएको भन्दै पूर्व पश्चिम राजमार्ग ठप्प, रोकियो डिआइजीकै गाडी

महेन्द्रनगर । झलारीका ललित जोशीलाई ठक्कर दिनेलाई जोगाउन खोजिएको भन्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।
बेदकोट नगरपालिका १० दैजी चम्पापुरमा शुक्लाफाँटा नगरपालिका १० झलारीका ३८ बर्षिया जोशीकोे निधन भएको थियो । प्रदेश प्रहरी धनगढीमा कार्यरत प्रहरी जवानद्वय अमित भट्ट र सिद्धराज जोशी सवार बा ६६प ८७८७नम्बरको गाडीले ठक्कर दिएर मृत्यु भएको भन्दै उनका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
स्थानीयले सुदूरपश्चिमका डिआईजी डम्बर बहादुर विक चढेको गाडी रोकि दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले घटनाको छानबिन भईरहेको बताए ।

‘यो सवारी दुर्घटनाको हामीले अनुसन्धान अघि बढाईसकेका छौँ, ‘उनले भने, ‘छानबिन गर्दै जाँदा को को दोषि भेटिन्छन, सबैमाथि कार्बाही हुन्छ ।’शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।
राजमार्ग बन्दपछि यात्रु अलपत्र परेका छन् । महेन्द्रनगरबाट सवारी अर्जुनीमा यात्रु छाडेर फर्किन थालेका छन् । यात्रु पैदलबाट गन्तव्यतिर हिँडि रहेका छन् । बिच बाटोबाटै फर्किएका यात्रुले स्थानीय प्रशासनप्रति आक्रोश पोखेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन प्रा.डा. मुकुन्द्र कलौनीले यात्रु बाटोमै अलपत्र परेको बताए । धनगढी जान हिँडेका उनी राजमार्ग बन्दपछि फर्किएका छन् ।
‘सडक दुर्घटनामा एकजना युवकको दुखद मृत्युको सवाललाई लिएर बाटो जाम गरिएकोले सयकडौँको सङ्ख्यामा यात्रुहरू यस्तो गर्मीमा अर्जुनी ब्यारेकनेर अलपत्र परेको अवस्था छ। म पनि धनगढी, सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानको भानु जयन्ती कार्यक्रममा जाँदै थिए। गएकै साधनमा फिर्ता आउनुपर्यो। महेन्द्रनगर–काकडभिट्टा बस त्यस्तै प्रकारले फिर्ता भयो। त्यत्रो लामो बाटोको सवारी सुरुवातमै झन्झटमा परे। ठूलो सङ्ख्यामा यात्रुहरू चर्को घाममा पैदल हिँडिरहेको अवस्था छ’ उनले भने ।
