

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र स्वतन्त्र समूहका नेता भीम कुमालले मंगलबार जिल्ला अदालत कञ्चनपुर परिसरमा हात मिलाएर संयुक्त तस्बिर खिचेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचन जितेर लिम्बु मेयर निर्वाचित हुँदा कुमाल उनका प्रतिद्वन्द्वी थिए । गत वर्ष मेयर लिम्बुले कुमाललाई लक्षित गरी सामाजिक सञ्जालमा टिका टिप्पणी कुमालले उनी विरुद्ध अदालतमा बेइज्जति मुद्दा दायर गरेका थिए । त्यसपछि यी दुई नेताबीच आपशी दुरी बढेको थियो ।
ंमगलबार जिल्ला अदालतमा मेयर लिम्बु र कुमालबीच मुद्दामा मिलापत्र भएपछि अदालत परिसरमा दुबैले संयुक्त तस्बिर खिचेका हुन् ।
असार २९ गते जिल्ला अदालतका न्यायाधिश आत्मदेब जोशीको इजलाशले मुद्दालाई मेलमिलापका लागि पठाएका थिए । त्यसपछि दुबै पक्षबीच मेलमिलाप केन्द्रमा छलफल भएको थियो ।
छलफलमा मेयर लिम्बुले सामाजिक सञ्जालमा आफूले गरेका टिकाटिप्पणीले कुमालको चित्त दुःखेको विषयमा आत्मआलोचना गरेपछि दुबै पक्षबीच मिलापत्र भएको छ ।

‘मेरो व्यक्तिगत विषयमा मेरो बेइज्जत हुने गरी फेसबुकमा टिका टिप्पणी गरिएको थियो, त्यस विरुद्ध म अदालत गएको थिए’ कुमालले भने, ‘वहाँले आत्मआलोचना गरि सकेपछि मेलमिलाप भयो ।’

मेयर लिम्बु र आफूबीच मेलमिलाप हुँदा दुबै पक्ष खुसी भएको कुमालले बताए । ‘मेरो वहाँसित व्यक्तिगत रुपमा केही छैन, वहाँको पनि मसित केही छैन, वहाँ मेयर हो, मेयर भई सकेपछि जनताको प्रतिनिधिका रुपमा वहाँसित गुनासो गर्ने, समस्या राख्ने, वहाँको आलोचना गर्ने हक अधिकार सबै नागरिकलाई हुन्छ, त्यसलाई वहाँले अन्यथा लिनु हुँदैन’ उनले भने,‘सार्वजनिक व्यक्तिले आफ्नो पद र जिम्मेवारीको ख्याल गर्न पर्छ, मेरो रुपमा व्यक्तिगत रुपमा बेइज्जत भएपछि म न्याय खोज्न हिँडे ।’
मेयर लिम्बु नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । उनी २०७४ को निर्वाचनमा पराजित भएका थिए । एमाले दोधारा चाँदनी नगर कमिटीका पूर्व अध्यक्ष लिम्बु एमाले जिल्ला कमिटी सदस्य छन् ।
कुमालले दोधारा चाँदनीमा आफ्नो नेतृत्वमा स्वतन्त्र समूह बनाएका छन् । मेयर उप मेयर सहित सबै वडा अध्यक्ष र सदस्यमा स्वतन्त्र समूह २०७९ को स्थानीय तह चुनाव लडेको थियो ।
दोधारा चाँदनीमा १० वडा छन् । चुनावमा कुमाल नेतृत्वको स्वतन्त्र समूहले बलियो जन समर्थन पाएको पाएको थियो ।
कुमाल २०७९ को आम निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश सभा सदस्यमा पनि चुनाव लडेका थिए ।
भारतमा इन्जिनियरिङ्ग पढेका कुमाल सुदूरपश्चिम क्षेत्रमा सीप मुलक तालिम सञ्चालन गर्दै आएका छन् ।
मेयर लिम्बुले सामाजिक सञ्जालबाट सार्वजनिक बेइज्जत हुने गरी टिप्पणी र लाञ्छना लगाएपछि अदालत पुगेका हुन् । सुरुमा ठाडो उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका उनी प्रहरीको सुझावपछि अदालत गएका थिए ।
झण्डै १० महिना अघि गत वर्ष भदौ २४ गते मेयर लिम्बु विरुद्ध अदालतमा बेइज्जति मुद्दा दायर भएको थियो । कुमालले उनलाई कैद सजाय र क्षतिपूर्तिको माग गरेका थिए ।
अदालतले असार २९ गते मेलमिलापका लागि पठाएपछि दुबै पक्षबीच छलफल अघि बढेको थियो । दुबै पक्ष मेलमिलापका लागि राजी भएपछि मंगलबार मेलमिलपा केन्द्रमा छलफल गरी सम्झौता गरिएको हो ।
मेलमिलापकर्ता धनराज शर्माले सहजीकरण गरे । मेलमिलाप केन्द्रमा मिलापत्र भएपछि जिल्ला न्यायाधिश जोशीले मेलमिलाप भएको व्यहोरा प्रमाणित गरेपछि दुबै पक्षले अदालत परिसमा तस्बिर खिचाएका हुन् ।
