

महेन्द्रनगर । करार र ज्यालादारी कर्मचारी आन्दोलनका लागि धनगढी हिँडेपछि दोधारा चाँदनीका स्वास्थ्य संस्थाको सेवा ठप्प हुन पुगेको छ ।
दोधारा चाँदनीका अधिकाँश स्वास्थ्य संस्था करार र ज्यालादारी कर्मचारीको भरमा सञ्चालन हुँदै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले केही दिन अघि ल्याएको प्रदेश स्थानीय सेवा ऐनमा आफूहरुलाई हटाउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
दोधारा चाँदनीको स्वास्थ्य सहित अन्य कर्मचारीहरु विहानै नगरपालिका कार्यालयमा भेला भएर आन्दोलनका लागि धनगढी गएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कर्मचारी आन्दोलका कारण स्वास्थ्य संस्थाको सेवा प्रवाह सबैभन्दा बढी प्रभावित भएको बताए ।
‘कर्मचारी आन्दोलनले स्वास्थ्य संस्थाको काम लगभग ठप्प जस्तै छ, सबैभन्दा बढी असर स्वास्थ्य संस्थामा नै परेको छ’ उनले भने ।
दोधारा चाँदनीमा करार र ज्यालादारीका गरी ८० जना कर्मचारी छन् । उनीहरु सबै आन्दोलनमा छन् ।
दोधारा चाँदनी नगरपालिकाले करार र ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि हाजिर नहुन मौखिक रुपमा जानकारी गराएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मिश्रले प्रदेश सरकारको ऐनको अन्यौलका कारण कर्मचारीको म्याद थप गर्न सकिने अवस्था नभएको बताए ।
