ghar sansar

कञ्चनपुरमा ओरालो लाग्न थाल्यो एचआईभी

khasi

भुवन भट्ट
महेन्द्रनगर । कञ्चनपुरमा एचआइभी सङ्क्रमण दर घट्दो क्रममा छ । चेतनाको विकास र सरकारले गरेको लगानीका कारण कञ्चनपुरमा सङ्क्रमणदर घट्दो क्रममा रहेको जनाइएको छ ।

विगतमा एचआइभी सङ्क्रमित बढे पनि केही वर्षयता भने कञ्चनपुरमा एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको एचआइभी सङ्क्रमितका पक्षमा काम गर्दै आएका संघ संस्थाले जनाएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कञ्चनुरमा ४ सय ५६ जनाले एचआइभीको नियमित औषधी सेवन गरिरहेका छन् । जसमध्ये २ सय २९ महिला, १८६ पुरुष, आठ जना यौनिक अल्पसङ्ख्यक, १५ वर्षमुनिका १२ बालिका र आठ बालक रहेका छन् ।

गत आव २०८०÷८१ सम्म २३६ महिला, १९१ पुरुष, नौ यौनिक अल्प संख्यक, १५ वर्षमुनिका १४ बालिका र आठ बालकमा सङ्क्रमण देखा परेको थियो ।

सो आवमा २४ महिला र २८ पुरुष गरेर ५२ नयाँ सङ्क्रमित फेला परेका थिए ।
आव २०८१÷८२ मा थप २६ जनामा एचआइभीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ । चालु आवको वैशाख महिनासम्म छ महिला, १६ पुरुष, तीन यौनिक अल्पसङ्ख्यक एक बालकमा एचआइभी रोगको सङ्क्रमण देखा परेको छ ।

dirghayi clinic

पछिल्लो समय जिल्लामा एचआइभी सङ्क्रमणदर घट्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमण दर घट्दै गए पनि कञ्चनपुरमा एचआइभी परीक्षण दर भने बढेको एचआइभीसम्बन्धी काम गर्ने संस्था नभासाका सम्पर्क व्यक्ति भीष्मदेव भट्टले बताए ।

उनका अनुसार विगतमा समाजको अवहेलना, भेदभावको डरले एचआइभी परीक्षण गर्न डराउने, सङ्क्रमितहरू औषधी सेवन गर्न डराउने, खुलेर कुरा गर्न नसक्ने अवस्था रहे पनि अहिले भने सुधार आएको छ ।

एचआइभी सङ्क्रमणबाट गत आवमा दुई महिला र आठ पुरुष गरी १० जनाले ज्यान गुमाएका छन् । हाल महाकाली प्रादेशिक अस्पताल र दोधारा चाँदनी अस्पतालमा एआरटी सेन्टरमार्फत निःशुल्क एचआइभी परीक्षण भइरहेको छ । हाल कञ्चनपुरमा ७० वर्षमाथिका १५ जनाले नियमित रूपमा औषधी सेवन गरिरहेका छन् ।

स्थानीय सरकारको बेवास्ता

जिल्लामा अहिले एचआइभी सङ्क्रमित खतरामुक्त रहेका स्वास्थ्यकर्मी बताउँछन् । उनीहरूले समय समयमा औषधी सेवन गर्दै आएका र नयाँ सङ्क्रमितले पनि निर्भयका साथ औषधी सेवन गरिरहेकाले उनीहरू खतरामुक्त रहेको एचआइभी रोग सम्पर्क व्यक्ति रावलले बताए ।

उनीहरूलाई रोजगारी र थप हौसलाका लागि स्थानीय सरकारले भने बेवास्ता गरेको एचआइभी सङ्क्रमितले गुनासो गर्दै आएका छन् । एचआइभी सङ्क्रमितलाई रोजगारीको अवसर, आयस्तर सुधार र दैनिक गुजारा गर्नका लागि स्थानीय सरकारले छुट्टै बजेट छुट्याउनुपर्ने नभासा कञ्चनपुरका कोअर्डिनेटर भट्टले माग गरे ।

एचआइभी सङ्क्रमितका लागि स्थानीय सरकारले बजेट छुट्याइदिनुपर्ने उनले माग गरे । स्थानीय सरकार आएपछि हालसम्म पनि एचआइभी सङ्क्रमितका लागि कुनै प्रकारको बजेट नछुट्याइएको उनले दाबी गरे ।

Himal dental
सम्बन्धित
Loading...