

महेन्द्रनगर । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले बिहीबार शारदा विद्यापिठमा परीक्षा भवन शिलान्यास गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा परीक्षा भवन बनाउन लागिएको छ । प्रदेश सरकारले यसका लागि २५ लाख बजेट सहयोग गरेको थियो ।

विद्यापिठका प्राचाई हरिलाल जोशी सहित प्राध्यापकहरुको उपस्थितिमा उपकुलपति नेपालले भवन शिलान्यास गरेका छन् ।
परीक्षा भवनमा एक सय विद्यार्थी अटाउने क्षमता छ । यो भवन बनेपछि विद्यापिठमा दुई ओटा परीक्षा भवन हुने छन् । यस एक सय विद्यार्थी अटाउने क्षमताको अर्को भवन छ ।

विद्यापिठमा पर्याप्त परीक्षा नभएपछि विद्यार्थीहरुका लागि अन्यत्र परीक्षा केन्द्र बनाउनु पर्ने बाध्यता भएकाले प्रदेश सरकारको सहयोगमा भवन बनाउन लागिएको प्राचार्य जोशीले बताए ।
‘हामीसित यो भवन बनेपछि दुई ओटा हुने छन्, तर यी दुई भवन पनि पर्याप्त हुने छैन’ प्राचार्य जोशीले भने,‘विद्यार्थी संख्याका आधारमा परीक्षा भवन कम छन्, अन्यत्र लगेर परीक्षा केन्द्र बनाउनु पर्ने बाध्यता छ ।’
विद्यापिठमा हाल शास्त्री र एक वर्षे बिएडको पठनपाठन हुने गरेको छ । विद्यापिठका अनुसार शास्त्री र एक वर्षे बीएडमा सात सय विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पस भवन नहुँदा कञ्चन विद्या मन्दिरसित सहयोग लिएर परीक्षा सञ्चालन हुँदै आएको प्राचार्य जोशीले बताए ।
‘कञ्चनले हामीलाई निःशुल्क रुपमा भवन दिएर सहयोग गर्र्दै आएको छ’ उनले भने,‘यसका लागि हामी कञ्चनलाई धन्यवाद दिन चाहन्छौ ।’
प्राचार्य जोशीले उपकुलपति नेपाललाई विद्यापिठमा परीक्षा सञ्चालन गर्न सकिने भवन बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।

