

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साउन ६ गते राखेको वार्षिक प्रगति समीक्षा कार्यक्रमको खुला छलफलमा पत्रकारहरुले प्रहरी उपरीक्षक (एसपी) खडक बहादुर खत्रीलाई विभिन्न प्रश्न सोधे ।
त्यसमा पहिलो प्रश्न थियो– एसपी साप निर्मला पन्त प्रकरण अनुसन्धानमा के प्रगति भयो ? एसपी खत्रीले जवाफ दिए, ‘यसमा प्रगति भएको छैन ।’

प्रहरी कार्यालयमा यस अघिका कार्यक्रममा पनि निर्मला पन्त प्रकरणमा यस्तै जवाफ आउने गरेको थियो ।
झण्डै तीन महिना अघि मात्रै कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेका खत्रीले पनि विगतका प्रहरी प्रमुखझै निर्मला पन्त प्रकरण अनुसन्धानमा प्रगति नभएको बताएका हुन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार सात वर्ष पुगेको छ । २०७५ साउन ९ गते होमवर्क गर्न साथीको घर आएकी पन्त उखुबारीमा मृत भेटिएकी थिइन् ।
सात वर्षदेखि अनुसन्धान हुँदै आएको पन्त मृत्यु प्रकरणमा अझैसम्म अनुसन्धान सकिएको छैन । प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको यो प्रकरणको टुङ्गो लगाएर निर्मलालाई न्याय दिनु पर्ने चौतर्फी माग छ ।
गत वर्ष असार ३१ गते काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक गृहमन्त्री बनेपछि निर्मला पन्त प्रकरण टुङ्गोमा पुग्ने विश्वास बढेको थियो । यो घट्ना गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रको हो ।
गृहमन्त्री लेखक आफैं पनि निर्मलालाई न्याय दिनु पर्ने भन्दै सडकमा आएका थिए । त्यतिबेला प्रतिपक्षी दलमा रहेका उनले हत्याराले सरकारबाटै संरक्षण पाएको दावी गर्दै विरोध गरेका थिए ।
लेखकले त्यतिबेला भनेका थिए, ‘दोषीमाथि कारबाही नहुनुले सम्बन्धित निकायको अक्षमता र सरकारको संवेदनहीनता प्रमाणित हुन्छ ।’
गृहमन्त्री लेखक अघि ४ जनाले निर्मला पन्त प्रकरणमा हेरि सकेका छन् । गृहमन्त्री लेखकले पनि सुक्ष्म अनुसन्धान संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका थिए ।
सरकारले घट्ना छानबिनका लागि विभिन्न समिति बनाएको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सहित अनुसन्धानमा थुप्रै प्रहरी अधिकृत खटिएर अनुसन्धान गरिएको छ । निर्मलाको न्यायका महेन्द्रनगरबाट सुरु भएको आन्दोलन अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो ।
आन्दोलनको क्रममा प्रहरीको गोली लागेर एक जानको ज्यानै गएको थियो । आन्दोलनका क्रममा गोली लागेर धेरै जना घाइते भएका छन् ।
उखुबारीबाट शव उठाएर भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा राखेर आन्दोलन थालिएको थियो । उखुबारीबाट शव उठाउने कार्यपछि प्रहरी अनुसन्धानमा सर्वसाधारणको आशंका बढेको थियो ।
सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र घटना रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ । उखुबारीमा शव उठाउँदा प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि छ ।
निर्मलाको हत्या हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए। त्यसपछि कांग्रेसका बालकृष्ण खाण हुँदै रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्वमा पुगे ।
पहिलोपटक गृहमन्त्री बन्दा लामिछानेले पहिलो निर्णय नै निर्मला हत्याका दोषी पत्ता लगाई कारबाही गर्ने थियो । तर उनी दोस्रोपटक गृहमन्त्री बनेर बाहिरिँदा पनि घटनामा संलग्न अपराधी पत्ता लागेन ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेका थिए । सात वर्ष बितिसक्दा पनि छोरीका हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवी पन्त निराश भइसकेकी छन् ।
‘पालोपालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइन। अब कसैमा विश्वास छैन,’ उनले भनिन्, ‘अब न्याय पाउने आशै मरिसक्यो। पहिले–पहिले त प्रहरी आउँथे अचेल त कोही पनि आउँदैनन्।’
अनुसन्धान क्रममा हालसम्म प्रहरीले १ सय २४ जनाको डीएनए परीक्षण तथा ६ सय ५५ जनासँग सोधपुछ गरिसकेको छ ।
पन्त प्रकरण अनुसन्धानमा हालसम्म किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत १ सय २४ जनाको डीएनए परीक्षण गरिएको हो । उनीहरुमध्ये किरण कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा हुन् ।
डिएन परीक्षणबाट समेत घटनामा संलग्नता पुष्टि गर्ने रिपोर्ट नआएको प्रहरी बताउँछन् ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले ‘घटनाको गहिरो तरिकाले अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको बताए । ‘अझै निष्कर्षमा पुगिसकेका छैनौँ, उनले भने ।
