

–रनि विवश
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ७ की कोमल उपाध्यय २०७४ को स्थानीय तह निर्वाचनसम्म आफ्नै घरधन्दा र व्यवसायमा सक्रिय थिइन् । बाबाथान बजारमा उनको मेहक ब्युटी पार्लर एण्ड कस्मेटिक सेन्टर छ । मेहक उनकी छोरीको नाम हो ।
झण्डै दुई दशक अघि उपाध्ययले बाबाथान ब्युटी पार्लर सञ्चालन गरेकी हुन् । उपाध्ययलाई सानैमा ब्युटीपार्लर सिकेर पसल सञ्चालन गर्ने सोख थियो । विवाहपछि उनले भारतको देहरादुन गएर ब्युटीपार्लर सिकेर बालकालको सोख पूरा गरिन् ।
देहरादुनमा बहिनीको घरमा बसेर २०७२ मा उपाध्ययले ब्युटीपार्लरको एडभान्स तालिम लिएकी हुन् । त्यस अघि समान्य तालिम लिएर बाबाथान ब्युटी पार्लर सञ्चालन गरेकी थिइन् ।
विहानदेखि साँझसम्म पार्लर चलाउँदा दैनिक डेढ हजादेखि दुई हजारसम्म आम्दानी हुन्थ्यो । चाडपर्व र विवाहका महिनामा आम्दानी बढी हुन्थ्यो । २०७४ को चुनाव अघिसम्म उपाध्ययले पार्लरलाई ध्यान दिइन् ।
अहिले उपाध्ययको यो दैनिकी फेरिएको छ । उनी २०७४ को स्थानीय तह निर्वाचनबाट राजनीति नजिक पुगिन् । त्यहींबाट अघि बढेकी उनी अहिले राजनीतिमा सक्रिय छन् ।
२०७९ को स्थानीय तह निर्वाचन लडेर उनी दोधारा चाँदनी ७ को वडा सदस्य भइन् । उनी काँग्रेसबाट चुनाव लडेकी हुन् ।
२०७९ को निर्वाचनमा वडा सदस्य लड्दा पनि उनी चर्चामा आइन् । कारण थियो, उनका श्रीमान सन्दिप उपाध्यय पनि वडा सदस्यमा चुनाव लडेका थिए । उनी एमालेबाट वडा सदस्य लडे । उनी पनि निर्वाचित भए ।
लोग्ने र स्वास्नी फरक दलबाट वडा सदस्य उम्मेदवार भनेर समाचार छापिएका थिए । दलीय आधारमा काँग्रेसकी उपाध्ययको पारिवारिक सम्बन्ध एमाले र माओवादीसित छ ।
एमालेबाट उनका श्रीमान सन्दिप वडा सदस्य नै छन् । उनी माओवादी केन्द्रका नेता इन्द्र बहादुर रावतकी भतिजी हुन् । अर्थात रावतका उनका राइलो बुवा हुन् । रावत २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीबाट मेयरको चुनाव लडेका थिए ।
राजनीतिमा नआएकी उपाध्ययले त्यति बेला रावतलाई मेयरमा चुनाव जिताउन सहयोग गरिन् । त्यति बेलासम्म राजनीति उनको चासो बाहिरको विषय थियो ।
राइलो बुवा अर्थात रावत चुनाव लडेपछि उनी माइती सम्बन्धले उनलाई जिताउन प्रचारमा लागिन् । रावतको चुनाव प्रचारका क्रममा उनी दोधारा चाँदनीका सबै वस्तीसम्म पुगिन् ।
रावतलाई जिताउन सकिनन् । चुनाव प्रचारको अनुभव भएपछि उनी समाजका लागि केही गर्न पर्ने भन्दै सोच्न थालिन् ।
त्यसपछि उनी नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भइन् । रेडक्रसमा उनी सुरुमै चुनाव लडेर सदस्य निर्वाचित भइन् । अहिले रेडक्रस दोधारा चाँदनी उप शाखाको उप सभापति छन् ।
रेडक्रसमा आवद्ध भएपछि उनी प्रत्यक्ष राजनीतिमा आएकी हुन् । रेडक्रस सदस्य भएर नगरपालिकाका सबै वासिन्दाको घरदैलोमा पुगिन् । वासिन्दालाई अप्ठेरोमा साथ दिइन् ।
अहिले उनी राजनीति र रेडक्रस दुबैमा सक्रिय छिन् । काँग्रेसको उनी क्षेत्रीय समिति सदस्य छिन् ।
उपाध्यय समान्य घर परिवारमा जन्मिएकी हुन् । उनका बुवाको गाउँ घरमा समान्य व्यापार छ । ६ भाई बहिनीमा उनी जेठी हुन् । २०६२ मा सन्दिप उपाध्ययसित विवाह भएको हो ।
भानु बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनलाई निरन्तरता दिएकी उनको अम्बिका माविमा कक्षा ८ सम्म र लक्ष्मी माविबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यसपछि भानु माविमा कक्षा ११ र १२ पढेकी उनले त्यसपछि भानु बहुमुखी क्याम्पसमा पढेकी हुन् ।
‘राजनीतिमा आएको धेरै वर्ष भएको छैन, म राजनीति सिक्दैछु’ केही दिन अघि दोधारा चाँदनी नगरपालिका कार्यालयमा भेटिएकी उपाध्ययले भनिन् ।

त्यहीं बेला उनले आफ्नो तीन वर्षे अनुभव सुनाइन् । तीन वर्षमा उनले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने प्रवृत्ति समाजमा हावी भएको देखेको बताइन् । ‘पालिकाको समग्र विकास हुुनु पर्छ भन्ने नभएर व्यक्तिगत स्वार्थ हावी देखिन्छ’ उपाध्यय भन्छिन् ।
वडामा योजना छनौट क्रममा ठाउँको विकास गर्न पर्छ भनेर कसैले पनि नभनेर आफ्नो नाफा नोक्सानको योजना मात्रै हेर्ने गरिएको उनको भनाई छ ।
दोधारा चाँदनीका माओवादी केन्द्रका नेता मान बहादुर सुनार २०७९ अघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री थिए । सुनारले मन्त्री हुँदा स्थानीयलाई बोरिङ्ग, मोटर, भैसी, अनुदान लगायतका कार्यक्रम दिएका थिए ।
अहिले पनि जनताले तिनै कार्यक्रम माग गर्र्दै आएको उपाध्ययले सुनाइन् । ‘जनता अहिले पनि आशमा छन्, अहिले अब मन्त्री छैन’ उनले भनिन् ।
हालससम्म आफूसित घर निर्माणका लागि सबैभन्दा धेरैले आग्रह गरेको उनले सुनाइन् । दोधारा चाँदनीमा सबैभन्दा ठूलो समस्य तटबन्धको हो । यो माग बर्खामा वस्ती बगाएपछि मात्रै चर्को रुपमा उठ्ने गर्छ । ‘योजना निर्माणमा यस्तो माग नै हुँदैन’ उनले भनिन् ।
जनप्रतिनिधि भएपछि सबैको साथ सहयोग पाएकी उनी महिलालाई अपमान हुँदा रिस आउने गरेको बताउँछिन् ।
केही दिन अघि बाबाथान बजारमा सरसफाई कार्यक्रम थियो । सरसफाई गर्न गएका पुरुषले आफूलाई कुचो बोकेर सफा गर्न निर्देशन दिएपछि उनी रिसाइन् ।
रिसाएर झोक्किदैँ भनिन्,‘यो के भन्नु खोज्नु भएको ?’
महिलाहरु घरमा पनि सरसफाईको काम गर्छन् भनेर सार्वजनिक कार्यक्रममा निर्देशन दिएको उनको बुझाई छ । ‘प्रतिकार गरेपछि निर्देशन दिने पुरुष आफै कुचो समातेर सफा गर्न थाले’ उनी भन्छिन् ।
महिलालाई हेप्ने चलनजस्तै बनेको छ । त्यसका दुई कारण भएको उनी बताउँछिन् । ‘यसमा कतिपय महिलाका आफनै कारा छन्, त्यस बाहेक बाह्य कारण पनि छन्’ उनले भनिन् ।
महिला बलियो हुन आफैंले आत्मबल बढाएर अघि बढ्नु उनको सुझाव छ । ‘महिलाले आत्मबल बढाउनु पर्छ, म त्यो ठाउँमा पुग्न सक्दैन भन्ने सोच छाडेर अघि बढ्नु पर्छ’ उनी भन्छिन् ।
उपाध्यय नामझै आफ्नो मन पनि कोमल भएको बताउँछिन् । दुःखमा परेका मान्छे देखेपछि मन पग्लिएर आउने गरेको उनी सुनाउँछिन् ।
साउन ७ गते विपी स्मृति दिवस थियो । काँग्रेस नगर सभापतिले मनाएको कार्यक्रममा उनी सहभागी भइन् ।
कक्षा ९ मा पढ्ने सोनिका भट्ट सुगर देखिएर नगर अस्पताल भर्ना भएको थाहा भइन् । सानैमा कसरी मधुमहे अर्थात सुगर लाग्यो भनेर उनी टोलाइन् । अस्पताल पुगेर विरामी भेटिन् । चिकित्सकसित यसबारे जानकारी लिएर फर्किइन् ।
भट्टको परिवारको अवस्था कमजोर भएको थाह पाएपछि उनले सहयोग संकलन गर्ने निर्णय लिइ सकेकी थिइन् । ‘अब अभियान सञ्चालन गरी सहयोग संकलन गर्न पर्ने हो’ उनले भनेकी थिइन् ।
राजनीतिमा लागेर समाज सेवामा सक्रिय उनले आफ्नो पार्लर व्यवसायलाई पनि निरन्तरता दिएकी छन् । अहिले उनी साँझ विहान नियमित रुपमा पार्लर बस्छिन् । शनिबार पार्लरलाई बढी समय दिन्छिन् ।
चिनजानका ग्राहक उनलाई सम्पर्क गरी बोलाउँछन् । दशैं तिहारमा उनी तीन चार जना कामदार पार्लरमा राख्ने गर्छिन् ।
हालसम्म रेडक्रस र वडा सदस्य गरी दुई चुनाव लडि सकेकी छन् उपाध्ययले । उनी राजनीतिमा सक्रिय भएर लाग्ने सोच बनाइ सकेकी छन् ।
महिलालाई रोजगार दिने, सीप मुलक तालिम सञ्चालन गर्ने, शिक्षा स्वास्थ्य निःशुल्क हुनु पर्ने र अनाथ बालबालिकालाई शिक्षा दिक्षा दिने लगायतका चाहना राखेको उनी बताउँछिन ।
भन्छिन,‘सेवा गर्ने मन लाग्छ, त्यसमा म बानी परि सके, अब म राजनीतिमै लाग्छु, जनताले भनेको काम गर्छु, जनताको सेवा गर्छु ।’
