

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले विद्यार्थी नेता भुवन विष्टलाई कारवाही गरेको छ । आइतबार माओवादी केन्द्रको पार्टी कार्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएपछि विष्टलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ ।
बैठकमा विष्टले अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज राम चन्द्र भट्टमाथि मरणासन्न हुने गरी आक्रमण गरेकाले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्रले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष विष्ट माओवादी केन्द्रको भीमदत्त नगर कमिटी सदस्य छन् । कुटाकुटमा उनी आफैं पनि घाइते छन् ।
माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट र जिल्ला संयोजक खेमराज पाण्डेयले विष्टलाई कारवाही गरिएको विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा विष्टले पार्टीभित्र र बाहिर अनुशासनहिन कार्य गर्र्दै आएको र पटक पटक सचेत गराउँदा समेत वेवास्ता गरेको तथा आइतबार क्रान्तिकारीको बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विष्टलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग समेत गरिएको छ । पार्टी कार्यालयमा आइतबार विद्यार्थीहरुको छलफलमा कुटाकुट भएको भिडियो बाहिरिएको छ ।
बैठकमा सहभागीहरुका अनुसार माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टसित छलफल सुरु हुने बित्तिक्कै विवाद भएकोे थियो । विवाद मिलाउने क्रममा अचानक कुटकुटसम्म पुगेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले भूवन विष्ट र रामचन्द्र भट्ट घाइते भएका बताएका छन् । भूवन विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । भट्टको टाउकोमा सात वटा टाँका लागेका छन् ।
कञ्चनपुर प्रहरीले माओवादी नेताहरूको बिचमा आन्तरिक विवादले झगडाको रूप लिएको बताएको छ ।


