

महेन्द्रनगर । मिति : २०८२ साउन २४ गते
स्थान : समाज कल्याण अञ्चल बाल अनाथालय
समय : विहान ९ः०० बजे
टेबुलको स्ट्रेलमा रक्षा धागो, फलफूल छन्, अर्को प्लेटमा टिका र अक्षता छन् । पानसमा बत्ती बत्ती बलि रहेको छ । टेबुल अगाडि बाल बालिका बेञ्चमा शान्त भएर बसि रहेका छन् । एक छिनपछि एक बालिका टेबुल नजिक जान्छिन्, उनी बेञ्चबाट कसैलाई बोलाउँछिन् । उनी ती बालकको निधारमा टिका र अक्षता लगाउँछिन्, अनि हातमा रक्षा धागो बाँध्छिन् र कानमा फूल लगाएर ढोग दिन्छिन् ।

शनिबार विहान बाल अनालाथमा झण्डै एक घण्टासम्म यो देखिएको यो दृष्य हो । भीमदत्त नगरपालिका १० गड्डाचौकीकी सोरा चन्द(डल्लु) ले अनाथालयमा सबै दाजु भाईका हातमा रक्षा धागो बाँधेकी छन् ।

पाँच वर्षदेखि उनी अनाथालयमा रक्षा बन्धन मनाउँदै आएकी छन् । उनी भाई टिका पनि अनाथालयमा मनाउने गर्छिन् ।
सोराले सबैलाई पालैपालो रक्षा बाँधेर सबैलाई ढोग दिइन् । अनाथालयमा हाल २० जना छन् । उनले सबैको निधारमा टिका र अक्षता लगाएर कान फूल राखेर ढोग दिइन् ।
‘मलाई यहाँ आएर रक्षा बन्धन मनाउँदा निकै खुसी लाग्छ’ उनले भनिन्,‘मैले यहाँ पाँच वर्षदेखि रक्षा बन्धन मनाउँदै आएकी छु, अनि भाई टिका पनि यहीं मनाउँछु ।’
अनाथालयमा रक्षा बन्धन मनाउन उनी आफ्ना आमा बुवा, भाई र आफन्त सहित आएकी थिइन् ।
सोराले रक्षा धागो बाँधेपछि अनाथालयका दाई भाईले खुसी व्यक्त गरे । अनाथालयका विशाल लोहारले आफूहरु निकै खुसी भएको बताए ।


‘सोरा बहिनीले हामीलाई रक्षा बाँधेपछि हामीहरु निकै खुुसी छौ’ उनले भने । उनी अनाथालयमा बसेर फ्लोरिडा माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका छन् ।
सोरा सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द र सोना चन्दकी जेठी छोरी हुन् । उनका भाई छन् । उनी पनि रक्षा बन्धन कार्यक्रममा सहभागी भए ।
सोना गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमी स्कुलमा कक्षा ६ मा पढ्छिन् । सोराले कक्षा १ देखि ५ सम्म स्कुल टप गरेकी छन् । नर्सरीदेखि डायमण्डमा अध्ययनरत उनी कलाकारित र स्पिच मन पराउँछिन् ।

उनी भविष्यमा कलाकार बन्ने बताउँछिन् । विद्यालय स्तरीय स्पिच र चित्रकलाकला दुई प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी छन् । स्पिपमा दोस्रो पटक र ड्रइङ्गमा पहिलो पटक प्रथम स्थान हासिल गरेकी हुन् ।
अनाथालयका कार्यालय प्रमुख दिवाकर भट्टले सोराले अनाथ बालबालिकासित रक्षा बन्धन मनाउन खुसीको कुरा भएको बताए ।

अनाथालयका सदस्य भगवति थापा लगायतका चन्दका आफन्त सोराको रक्षा बन्धन कार्यक्रममा सहभागी भए । सोराका बुवा डा. चन्दले छोरीले सानैदेखि अनाथालयमा आएर रक्षा बन्धन र भाई टिका मनाउने गरेको बताए ।
‘यसले थोरै भए पनि अनाथालयका दाई भाईलाई दिदी बहिनीको अभाव कम भएको महसुस हुन्छ ’ उनले भने ।

