

महेन्द्रनगर । आईतबार दिउँसो नुहाउने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य बिहानैदेखी सुरु गरिएको छ ।
दिउँसो करिब २ बजे भीमदत्त नगरपालिका–११ भुजेलास्थित जनता आधारभूत बिद्यालय नजिकै महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका थिए । आइतबार दिनभरि बालिकाहरु पत्ता नलागेपछि साँझ खोजी कार्य रोकिएको थियो ।

बगेर बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का मुकेश पन्तकी ७ बर्षीया छोरी सानवी र उनकै ७ बर्षीया भतिजी जीविका छन् ।

दुई बालिका बगेको खबर पाए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजतलास थाले पनि साँझ साढे ७ बजेसम्म पनि बालिकाहरुको अवस्था पत्ता लाग्न नसकेको खोजी कार्यमा खटिएका ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज वरिष्ठ नायब निरीक्षक सुरेन्द्र चन्दले बताए ।
बालिका बगेको स्थानदेखि दक्षिणतर्फ करिब पाँच किलोमिटर क्षेत्रमा खोजी गरिएको वरिष्ठ नायब निरीक्षक चन्दले जानकारी दिएका छन् ।
बेपत्ता बालिकाहरुको घर महाकाली नदी किनारबाट करिब पाँच सय मिटरको दूरीमा पर्छ । दुबै बालिका जनता आधारभूत विद्यालयमा अध्ययनरत थिए ।
वरिष्ठ नायब निरीक्षक चन्दले हिजो राति परेका कारण स्थगित गरिएको खोजी कार्य सोमबार बिहान ९ बजेबाट सुरु गरिएको बताए ।

