

महेन्द्रनगर । नेपाल बाल संगठन अर्थात् “बाल मन्दिर” कञ्चनपुरको कार्यालय राख्ने कोठा समेत भाडामा लगाएपछि बाल संगठनका केन्द्रीय अध्यक्ष विद्या उपाध्यय न्यौपाने बुधबार संगठन कार्यालय पुगेकी छन् ।
बाल संगठनले कार्यालयका सबै पूर्वाधार सार्क एजुकेशन फाउण्डेशनलाई भाडामा दिएपछि कार्यायल सडक किनारको सटरमा राखिएको छ ।

बाल संगठनमा पहिलो पटक बाल मन्दिरका सबै संरचना विद्यालयलाई भाडामा दिएर कार्यालय सटरमा राखिएको हो । बाल संगठनको केन्द्रीय समितिले विद्यालयलाई भाडामा संरचना दिइएको बताइन्छ । सार्वजनिक सूचना आव्हान नगरी डेढ लाख बढी भाडामा दिइएको संगठनका सदस्यहरु बताउँछन् ।
बाल संगठन कञ्चनपुरको जिल्ला सभा तथा अधिवेशन उद्घाटनका लागि अध्यक्ष न्यौपाने संगठनमा आएकी हुन् । उनले बाल संगठन सबै अनाथ बालबालिकाको व्यवस्थापन गर्न नसके पनि धेरै जसो अनाथ बालबालिकाको संरक्षण गरिरहेको बताइन् ।
सरकारले थप व्यवस्थित गर्न आवश्यक रहेको बताउदै अध्यक्ष न्यौपानेले भनिन्, ‘यसको औचित्य छैन भने सरकारले यसको खारेजी गरोस होइन भने यसको अविभावकत्व सरकारले ग्रहण गर्नु पर्दछ ।’


बाल संगठन कञ्चनपुरका निवर्तमान अध्यक्ष राम बहादुर बुडा पारिवारिक भेटघाटका लागि जापान गएका बेला उनी नेतृत्वको कार्य समिति खारेज गरिएको थियो ।
बुढा नेतृत्वको कार्य समिति खारेजपछि सोही समितिका सचिव दिर्घ राज भट्टलाई तदर्थ समितिको संयोजक जिम्मेवारी दिएर पठाइएको थियो ।
बुढा नेतृत्वको समिति खारेज गरेपछि संगठनले सार्क स्कुललाई सबै संरचना प्रयोग गर्ने गरी भाडामा दिएको थियो । त्यस अघि बाल मन्दिर माथिल्लो तला बाहेक अन्य संरचनाहरु विद्यालयलाई भाडामा दिइएको थियो ।
संगठनका निवर्तमान अध्यक्ष बुडाको कार्यकालमा पनि सार्कलाई संगठनका सबै संरचना भाडामा दिन दबाव आएको थियो । निवर्तमान अध्यक्ष बुडाले संगठनको कार्यालय र कार्यक्रम सञ्चालनका लागि आवश्यक भएको भन्दै सबै संरचना भाडामा लगाउन नहुने अडान राखेका थिए ।
संगठनको बुधबार सम्पन्न जिल्ला सभा तथा अधिवेशनबाट दिर्घराज भट्ट अध्यक्ष चुनिएका छन् । समितिमा महेश दत्त भट्ट, तर्कराज भट्ट, पार्वती अवस्थी, गोपिलाल कँंडेल, राम बहादुर कुवँर र धर्म सिह भाट सदस्य छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालका अनाथ बालबालिकाको संरक्षणका लागि यो संस्थाले खेलेको भूमिका अविस्मरणीय भएपनि हाल आएर काम भन्दा पनि कुरा वढि हुने प्रवृत्तिका कारण ओझेलमा पर्दै गएको बताए ।
याँ आउने कार्यसमितिले संस्थाको विगतको बिबादास्पद छबिको अन्त्य गर्दै अनाथ बालबालिकाको अबिभावकत्व ग्रहण गर्न सक्ने खालको होस भन्ने शुभकामना दिए । उनले संस्थाको अतिक्रमित सम्पति फिर्ता ल्याउन पहल गर्ने समेत बताए ।
बाल संगठनको बारेमा प्रकास पार्दै संस्थाका केन्द्रीय सदस्य चुडामणि भट्टले राष्ट्रिय निर्देशन ऐन–२०१८ अन्तर्गत बि.सं. २०२१ बि.सं.मा स्थापना भएको यस संस्थाको उद्देश्य असहाय बालबालिकाको संरक्षण, अधिकार प्रवद्र्धन र आश्रय तथा शिक्षा प्रदान गर्नु रहेको बताए ।

