

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सरकारले अविलम्ब गर्नुपर्ने कामहरू उल्लेख गरेका छन् ।
प्राध्यापक पाठकले पदाधिकारी नियुक्ति र नियमावली निर्माणबाट काम थाल्न सुझाव दिएका छन्। उनी विश्वविद्यालयको रजिष्ट्रार बन्ने दौडमा छन् । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोग अध्यक्ष हुने प्रयास सफल नभएपछि पाठक स्वास्थ्य विज्ञान विश्वविद्यालय रजिष्ट्रारको दौडमा होमिएको विश्वविद्यालयका अधिकारीहरु बताउँछन् ।

पदाधिकारी नियुक्ति र नियमावली निर्माण आवश्यक
विद्यमान ऐनअनुसार विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने भए पनि अझै दरबन्दी स्वीकृत नभएकाले प्रक्रिया अड्किएको प्राध्यापक पाठकले उल्लेख गरेका छन् । उनले सरकारले पदाधिकारी नियुक्त गर्नुपर्ने तथा नियुक्त पदाधिकारीहरूले यसै वर्ष विभिन्न नियमावली र कार्यविधि निर्माण गरी विश्वविद्यालयलाई संस्थागत आधारमा अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
शिक्षक तथा प्राविधिक पदपूर्ति
आर्थिक वर्ष २०८२÷०८३ भित्रै चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार आवश्यक पर्ने शिक्षक, कर्मचारी र प्राविधिक दरबन्दी स्वीकृत गरी पदपूर्ति प्रक्रिया सुरु गर्नुपर्ने प्राध्यापक पाठकले उल्लेख गरेका छन्। शिक्षक र प्राविधिक पदपूर्ति बिना एमबीबीएसको पढाइ सुरू गर्ने आधार निर्माण हुने छ।

३ सय शय्याको अस्पताल सञ्चालन प्राथमिकता
यसै वर्षभित्र कम्तीमा ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालनमा ल्याउने व्यवस्था गर्नुपर्ने प्राध्यापक पाठकले उल्लेख गरेका छन्। संघर्ष समिति र अन्य सरोकारवालाहरूको माग पनि यथाशीघ्र तीन सय शय्याको अस्पताल चलाउनुपर्ने रहेको छ। तीन सय शय्याको अस्पताल सञ्चालनमा आए मात्रै २०८४÷०८५ बाट एमबीबीएसमा ५० जना विद्यार्थी भर्ना गर्न स्वीकृति प्राप्त हुने व्यवस्था छ । यदि अस्पताल ५ सय शय्यामा विस्तार भए १ सय विद्यार्थीलाई अध्ययन गराउन सकिने प्राध्यापक पाठकले उल्लेख गरेका छन् ।
त्यस्तै, शिक्षण अस्पतालका लागि आवश्यक न्यूनतम उपकरणहरू जडान गर्नुपर्ने, विभिन्न विशेषज्ञ सेवा प्रारम्भ गर्नुपर्ने र एमबीबीएस पढाइ सुरु नहुन्जेल नर्सिङ, जनस्वास्थ्य, ल्याब टेक्नोलोजी तथा अन्य प्यारामेडिक्स कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने सुझाव प्राध्यापक पाठकको छ।
स्वायत्तताको स्पष्टता माग
हाल अस्पतालको सञ्चालन स्वास्थ्य मन्त्रालयमार्फत भइरहेकोमा विश्वविद्यालय स्वायत्त संस्था भएकाले आर्थिक, प्रशासनिक र शैक्षिक अधिकारक्षेत्रमा स्पष्टता हुने गरी नियमावली बनाउनुपर्ने भनाइ प्राध्यापक पाठकले अगाडि सारेका छन्। यी कुराहरूमा जति ढिलाइ भयो त्यति नै एमबीबीएस कार्यक्रम सञ्चालनमा ढिलो हुने चेतावनी प्राध्यापक पाठकले दिएका छन् ।
सकारात्मक सहयोगको अपेक्षा
स्थानीय सरोकारवालाहरूले अब अन्य विवादमा समय नखर्ची सबै पक्ष मिलेर यो गौरव गर्न सकिने विश्वविद्यालयलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । “यस संस्थाको सफलतापूर्वक सञ्चालनबाट सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा पाउने भएकाले सरकारले तदारुकताकासाथ काम गर्नुपर्ने प्राध्यापक पाठकले बताएका छन्।
साभार : दिनेश खबर

