

महेन्द्रनगर । अढाई महिनापछि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला खोलिएको छ ।
नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियु र राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विभिन्न मागहरु राखेर उपकुलति प्रा.डा हेमराज पन्त र रजिष्ट्रार प्रा.डा विनोद लेखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

दुबै विद्यार्थी संगठनले बुधबार विश्वविद्यालय केन्द्रीय कार्यालयमा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय समान्य प्रशासन महाशाखा प्रमुख भवानीदत्त पाण्डेयले विद्यार्थी संगठनसित छलफलपछि ताला खोलिएको बताए ।
‘ताला लगाएको लामो समय भई सकेको थियो,वहाँहरु छलफल भएपछि ताला खोलिएको छ’ उनले भने ।
विश्वविद्यालयका रजिष्ट्रार लेखकले कार्यभार सम्हालेको केही दिन अघि दुबैको कार्यकक्षमा तालाबन्दी गरिएको थियो ।
अहिले उपकुलपति र रजिष्ट्रार दुबै काठमाडौंमा छन् । उनीहरु विश्वविद्यालय अनुदान आयोगको कार्यक्रमका लागि काठमाडौं गएको केन्द्रीय कार्यालयका अधिकारीहरु बताउँछन् ।
समाजवादी सम्बद्ध अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले विश्वविद्यालय सुधारका लागि तालाबन्दी गरी दबाव दिइएको बताए ।
