
कञ्चनपुर निर्माण व्यवसायी संघमा नेतृत्वका लागि लडाई, दोहोरिन खोज्दै भट्ट, बदला लिएर नेतृत्व लिने दाउमा अवस्थी


महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
१४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् ।
अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हार बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् ।
भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरि सकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए । अध्यक्षका अर्का उम्मेदवार अवस्थीले अझै प्यानल घोषणा गरेका छैनन् । उनी प्यानल घोषणलाई थाती राखी मतदाताको घरदैलो पुगेका छन् ।
भट्ट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द उम्मेदवार छन् । १४ औं अविधेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी अवस्थी प्यानलबाट अमर बहादुर बम छन् । चन्द बेदकोट र बम दोधारा चाँदनीका वासिन्दा हुन् ।
१४ आंैं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित राजेन्द्र बहादुर चन्द चुनावी मैदान बाहिर छन् । उनी भट्ट प्यानलबाट वरिष्ठ निर्वाचित भएका थिए ।
संघको उपाध्यक्ष दिपक भट्ट र यज्ञराज बैज चुनावी मैदानमा छन् । उनीहरु दुबै संघको वर्तमान समितिका पदाधिकारी हुन् । १४ औं अधिवेशनबाट भट्ट कोषाध्यक्ष र बैज सह कोषाध्य निर्वाचित भएका थिए ।
भट्ट निरञ्जन प्रसाद भट्ट र बैज अवस्थी प्यानलबाट निर्वाचित भएका हुन् । अहिले उनीहरु साविक प्यालनबाट उपाध्यक्षमा प्रतिस्पर्धी छन् ।

१४ औं अधिवेशनमा भट्टले अवस्थी प्यानलका तेज बहादुर चन्द र सह कोषाध्यक्ष बैजले भट्ट प्यानलका विष्णु बहादुर सिहलाई पराजित गरेका थिए । अहिले अवस्थी प्यानलका उम्मेदवार चन्द भट्ट प्यानलबाट कोषाध्यक्षमा चुनाव लड्न लागेका छन् ।
संघको महासचिव योगेन्द्र ठकुराठी दोहोरिने गरी चुनावी मैदानमा छन् । उनका प्रतिद्वन्द्वी देबीदत्त भट्ट छन् । ठकुराठी भट्ट र भट्ट अवस्थी प्यानलबाट चुनाव लड्ने भएका छन् ।
भट्ट प्यानलबाट सचिवमा बृजकिशोर चन्द र अवस्थी प्यानलबाट गोर सिह ऐर चुनावी मैदानमा छन् । चन्द संघको वर्तमान कार्य समिति सदस्य हुन् । १४ अधिवेशनबाट उनी मनोनित सदस्य हुन् । ऐर संघको पूर्व सदस्य हुन् ।
संघको कोषाध्यक्षमा तेज बहादुर र सह कोषाध्यक्षमा हेम बहादुर महरा भट्ट प्यानलबाट उम्मेदवार बन्ने भएका छन् । अवस्थी प्यानलबाट चित्र बहादुर कार्की चुनावी मैदानमा छन् ।
संघको वर्तमान समितिका पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष चन्द र सचिव सूर्य बहादुर चन्द बाहेक अन्य पदाधिकारी चुनावी मैदानमा आएका छन् ।
१४ औं अधिवेशनमा सूर्य बहादुर चन्द अवस्थी प्यानलबाट सचिव निर्वाचित भएका हुन् ।
संघको १३ औं अधिवेशनमा एकै प्यानलमा चुनाव लडेका भट्ट र अवस्थी १४ औं बाट आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा आएका हुन् ।
संघका महासचिव ठकुराठीले संघको साधारण र १५ औं अधिवेशन तयारी गरिएको बताए ।
गृहमन्त्री रमेश लेखकले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । गृहमन्त्री लेखक संघका पूर्व कानुनी सल्लाहकार हुन् ।
निर्वाचन समितिले १५ औं अधिवेशनको प्रक्रिया सुरु गरेको छ ।
