

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्तीमा डुबानमा परेका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । सुरक्षाकर्मी, स्थानीयले डुबानमा परेका वासिन्दालाई सुरक्षित स्थानमा पुगाएका छन् ।
जोगबुडा नदीको बाढीले पटराखल्ला, रामपुरे टापु र जर्का टोलका वासिन्दा घर छाडेका छन् । हालसम्म डेढ सय बढी वासिन्दा बाढीले घर छाड्नु पर्ने अवस्थामा पुगेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार १ सय ५७ बाढीबाट प्रभावित भएका छन् ।
दोधारा चाँदनी नगरपालिका– स्थित ३ पटरा खल्ला टोलमा २४ परिवारका ५० जना विस्थापित भएका छन्। उनीहरूलाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका ७ र ८ को रामपुरे टापुमा ५२ परिवार र जर्का टोलका २७ परिवार सहित ८२ जना प्रभावित भएका छन्। त्यस्तै सुन्दरनगर क्षेत्रमा १७ घर डुबानमा परेका छन् ।

जर्का टोल, सुन्दरनगर र रामपुरे टापुका विस्थापितलाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ । उनीहरुलाई सोमबार विहान विद्यालयमा राखिएको हो ।
दोधारा चाँदनी नगरपालिका–१० शान्ति टोलका ३७ परिवारका करिब ५० जना सर–समान र चौपाया सहित अम्बिका माध्यमिक विद्यालय सारिएको छ ।
दोधारा चाँदनी नगरपालिका ७ स्थित कञ्जभोज र वडा नं. १० को सुन्दरनगरमा सशस्त्र प्रहरीको बिओपी डुबानमा परेको छ ।
कञ्चभोज पोष्ट ७ नम्बर र सुन्दरपुर १० नम्बर वडामा पर्छ । कञ्चोज पोष्टमा बाढी पसेर डुबान भएपछि सशस्त्र प्रहरी सुरक्षित स्थानमा गएर बसेका छन् ।
दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेकले बाढीले सशस्त्र प्रहरीको पोष्ट डुबानमा परेको बताए ।
रामपुरे टापुे पारी कञ्जभोजमा सशस्त्र प्रहरीको पोष्ट छ । रामपुरे टापुस्थित बाँध भत्काएर जोगबुडामा बस्तीमा पसेको
छ । जोगुबडा नदीको बाढी जर्का टोलमा पसेपछि अधिकाँश परिवार घर छाडेर सुरक्षित स्थानमा आएका छन् ।
