

महेन्द्रनगर । तीन दिन लगातार वर्षापछि जोगबुडा नदीमा निर्माण गरिएका बाँध भत्काएर बाढी वस्तीमा पसेको छ । दोधारा चाँदनी नगरपालिकाका अनुसार बाढी वस्तीमा पसेपछि डेढ सय बढी परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।
दोधारा चाँदनी नगरपालिका ७ र ८ को सीमा क्षेत्र रामपुरे टापुमा गत आर्थिक वर्षमा निर्माण गरिएको तटबन्ध भत्किएको छ ।


वडा अध्यक्ष ज्ञानेन्द्र बहेकका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको जोगबुडा नदी नियन्त्रणको ४५ लाख बजेटमध्ये रामपुरे टापुमा १६ लाख खर्च गरी तटबन्ध निर्माण गरिएको हो । सोमबार विहान नदीमा अत्यधिक पानी भएपछि तटबन्ध भत्किएको हो ।
वडा अध्यक्ष क्षेत्रीले तटबन्ध भत्किएर वस्तीमा बाढी पसेपछि ५ परिवारलाई उद्धार गरी जनज्योति माध्यमिक विद्यालयमा ल्याइएको छ ।
यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटरा खल्ला बस्तीमा पनि बाँध भत्किएर बाढी पसेको छ । बाढी वस्तीमा पसेर डुबान भएको छ ।
बाढी आएपछि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु सहित वडा अध्यक्षहरु दिनभर सक्रिय भएका छन् । मेयर लिम्बुले नदीमा पानीको सतह बढ्दै गएकाले वासिन्दाई सतर्क हुन आव्हान गरेका थिए ।

