

महेन्द्रनगर । जोगबुडा नदीको बाढी विस्थापित भएर विद्यालयमा बसि रहेका स्थानीय अझै घर फर्किन सकेका छैनन् । उनीहरु दुई अघि बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।
बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् ।

नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छभने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ ।
त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ ।
समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। उनका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ।
मंगलबार बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ। सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् ।
नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।

