

महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्दको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
साधारण सभाबाट आर्थिक २०८२÷०८३ को नीति तथा कार्यक्रम पारित गरिएको छ । साधारण सभा उद्घाटनम सहकारीका अध्यक्ष बहादुर चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । चन्दको अध्यक्षतामा साधारण सभा गरिएको छ ।

उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्दले सुदूरपश्चिम क्षेत्रमा शिक्षक हित बचत सहकारी उत्कृष्ठ भएको उल्लेख गर्दैै देशभरको नमूना सहकारी र असल सहकारी बनाउन ठोस कार्य कार्य योजना बनाउन सुझाव दिए ।
‘सहकारी संस्था थुप्रै छन्, सुदूरपश्चिमका ९ जिल्लामध्ये कञ्चनपुरमा सहकारी अहिले राम्रो छ, पहिला अछाममा शिक्षक हित सहकारीको ५ करोड कारोबार हुन्थ्यो, अहिले यो सहकारी पहिलो भएको छ’ उनले भने ।
दुई तीन वर्षदेखि सहकारीमा असहज परिस्थिति आएको उल्लेख गर्दैै उनले सहकारी संस्थाका सञ्चालक र कर्मचारी जेलसम्म पुगेको तथा निलम्बन हुनु पर्ने अवस्था आएको बताए ।
‘बाहिरबाट आएर अफिस खोलेर बचत उठाउने, त्यसपछि अफिस बन्द गर्ने सहकारीका कारण समस्या छ, केहीले यसरी बदमासी पनि गर्छन्’ उनले भने,‘यो सहकारी स्थानीय व्यक्ति संलग्न भएको हो, यसमा त्यस्तो छैन, हुँदैन, मुख्य कुरा नियतको हो, गलत गर्छन् भन्ने प्रक्रियाबाट जोगाउन आवश्यक छ ।’
सहकारी विभाग र राष्ट्रिय सहकारी प्राधिकरणले तोकेका नियम र मापदण्ड पालना गरी सहकारीलाई पारदर्शी रुपमा सञ्चालन गर्न सकिने चन्दले बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य धनमति विष्टले सहकारी संस्थाले सहज रुपमा ऋण प्रदान गरी समस्या टार्न सहयोग पुगेको बताइन् ।
‘बैंकमा एक लाख ऋण लिन एक महिना धाउनु पर्छ, अफ्ठेरो परेको बेला सहकारीमा आएर सहज रुपमा ऋण लिन सकिन्छ’ उनले भनिन्,‘सहज रुपमा ऋण उपलब्ध गराइन्छ, यो निकै सजिलो र सहज सुविधा हो ।’
सहकारीले आय आर्जनका लागि नयाँ व्यवसाय गर्न पर्ने सुझाव विष्टले दिइन् । उनले सहकारी भ्रमणका क्रममा आफूले पोखरामा स्टेशनरी पसल सञ्चालन गरिएको उल्लेख गर्दै कञ्चनपुरमा पनि व्यवसाय सञ्चालन गर्न सकिने बताइन् ।
पेशागत महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्टले थोेरै शेयर सदस्य र लगानीबाट सञ्चालन गरिएको सहकारी १५ लाख ऋण दिन सक्ने अवस्थामा आएकोले ठूलो बंैक जस्तो हुन पुगेको उल्लेख गरे ।
महासंघ अध्यक्ष भट्टले तत्कालिन डिभिजन सहकारी कार्यालयमा ३२ जनाले संस्था गरी सञ्चालन गरिएको जानकारी गराए ।
नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय महासचिव हरिश प्रसाद जोशीले समस्या परे सबैले सहकारीलाई सम्झिने गरेको बताए ।

सहकारी ठगीका घट्ना बढेको उल्लेख गर्दै उनले ऋण अशुली ठिक हिसाबले गर्न पर्ने सुझाव दिए । ‘अहिले सहकारी ठगीका विषय आएका छन्, ऋण लगानी ठिक ढङ्गले हुन सकेन भने अप्ठेरो हुन सक्छ’ उनले भने,‘सहकारीले भावनामा जानु हुँदैन, त्यो नियत बुझ्नु पर्छ ।’
नेपाल बुद्धिजीवि परिषद्का केन्द्रीय सदस्य राजेन्द्र प्रसाद पाण्डेयले सहकारीले एक व्यक्ति एक सहकारी अभियान सञ्चालन गरी सहकारीको आकार बढेको र आगामी दिनमा यसलाई उचाईमा लैजानु पर्ने बताए ।
सहकारीलाई बहुआयामिक ढङ्गले सञ्चालन गर्न पर्ने पाण्डेयको भनाई छ । ‘अब सहकारीलाई यो ऋण र बचतमा मात्रै सीमित गरिनु हुँदैन, यसलाई बहुआयामिक बनाउन पर्छ,, त्यसका लागि सहकारी पसल चलाउन सकिन्छ, सहकारी विद्यालय सञ्चालन गर्न सकिन्छ, सहकारी प्रशिक्षक केन्द्र सञ्चालन गर्न सकिन्छ ।’
पेशागत महासंघका केन्द्रीय सदस्य जयन्ति पन्तले बेलौरी क्षेत्रमा शाखा विस्तार गर्न पर्ने बताइन् । दक्षिणी क्षेत्रका शेयर सदस्यलाई बचत तथा ऋण कारोबार सहज बनाउन बेलौरीमा शाखा खोल्न आवश्यक भएको पन्तको भनाई छ ।
नेफ्सकुन सेवा केन्द्र महेन्द्रनगरका प्रमुख धर्मराज जोशीले शिक्षक समाजको बुद्धिजीवि वर्ग भएकाले शिक्षकहरुको सहकारी सबैले सम्मान गर्न योग्य हुनु पर्ने बताए ।
जोशीले आफू १४ वर्ष शिक्षण पेशामा संलग्न रहेको र सहकारीको सदस्यता लिने क्रममा आफू शिक्षणबाट बाहिरिएको सदस्यता लिन नसकेको उल्लेख गरे ।
सहकारी संस्था नेतृत्व र शेयर सदस्यका कारण अघि बढ्ने उल्लेख गर्दै जोशीले सहकारी संस्था कठिन अवस्थाबाट गुज्रि रहेको र सहकारीका मापदण्ड पालना गर्न पर्नेमा जोड दिए । ‘सहकारी विभाग र राष्ट्रिय सहकारी प्राधिकरणको मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्छ,’ उनले भने ।
सहकारीले जोखिम कोषमा लगानी बढाउनु पर्ने र चार वर्षे रणनीतिक योजना बनाएर त्यसका आधारमा सहकारी सञ्चालन गरिनु पर्ने जोशीले बताए ।
नेपाल शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष निर्मला जोशीले आफूले पनि सहकारीको सदस्य हुन चाहना राखेको बताइन् ।
राष्ट्रिय सहकारी बंैक महेन्द्रनगरका प्रतिनिधि आशा जोशीले सहकारीको आर्थिक विवरण र प्रगति राम्रो भएको बताइन् । ‘मैले यो प्रतिवेदन हेर्दा यसमा आर्थिक विवरण राम्रो देखे, राम्रो छ, राम्रो प्रगति देखिएको छ’ उनले भनिन्, ‘ऋण पनि असल कार्यमा नै खर्च गरिएको होला, सहकारीको विश्वसनीयतालाई बढाउँछ ।’
सहकारीका ऐन नियम मापदण्ड र सहकारी प्राधिकरणको निर्देशन पालना गरी सहकारीलाई असल सहकारी रुपमा सञ्चालन गर्न उनले सुझाव दिइन् । ‘आगामी दिनमा पनि यसले प्रगति गर्र्दै जाओस ’ उनले भनिन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य हरि प्रसाद रिजाल, सहकारीका पूर्व अध्यक्ष ध्रबराज पण्डित, एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष नन्द बहादुर रोकाया, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्ट, अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशी, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी लगायतले शुभकामना मन्तव्य राखे ।
सहकारीका सचिव हर्क बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदत्त भट्टले स्वागत मन्तव्य राखे ।
२०५९ मा ३२ जनाले सञ्चालन गरेको सहकारीमा हाल ५ सय ९८ शेयर सदस्य छन् । सहकारीको कारोबार सात करोड बढी पुगेको छ ।
बन्द सत्रमा अध्यक्ष बहादुर चन्दको वार्षिक, कोषाध्यक्ष पृथ्वीराज जोशीको आर्थिक र लेखा समिति संयोजक लोकेन्द्र सिह साउँदको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।

