

महेन्द्रनगर । एमाले कञ्चनपुरले जेन जी आन्दोलनमा नाममा आगजनी र तोडफोडमा संलग्नलाई कारवाही, शान्ति सुरक्षा प्रत्याभूति र भ्रष्टाचार छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लबराज भट्टले प्रेस बक्तव्य जारी गर्र्दै तोडफोड र आगजनीमा संलग्नलाई यथाशीघ्र पहिचान गर्न समेत माग गरेका छन् ।

‘यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको यथाशीघ्र पहिचान गरि कानुनको कठघरामा ल्याउन र शान्ति सुव्यवस्थाको प्रत्याभुति दिलाउनुका साथै मुलुकमा व्याप्त भ्रष्टाचारको न्यायिक छानबिनका लागि शक्तिशाली उच्च स्तरिय छानबिन आयोग गठन गर्न समेत माग गर्दछौ’ वक्तव्यमा भनिएको छ ।
एमाले कञ्चनपुरले देशै भरिबाट हजारौ कैदी बन्दीहरु जेल तोडफोड गरी फरार भएको, राजनीतिक दलका कार्यालय र नेता कार्याकर्तामाथि आक्रमण हुनु, स्वदेशी उद्योगपतिहरुका निजी सम्पत्ति र व्यापारिक केन्द्रमा आगजनी र लुटपाट गरिएकाले शान्ति सुरक्षामा गम्भीर असर परी समाजमा त्रासपूर्ण वातावरण उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
मुलुकमा यतिबेला जटिल परिस्थितिको श्रृजना भएकोे छ । जन निर्वाचित संस्था प्रतिनिधि सभाको बिघटन गरि अन्तरिम सरकार गठन गरिएको छ । जसका कारण मुलुक संबैधानिक संकट तर्फ अगाडी बढी रहेको छ । यतिबेला जनताको लामो बलीदानी पुर्ण संघर्षवाट प्राप्त लोकतान्त्रीक ब्यवस्था र संबिधानको रक्षाको निम्ती सम्पुर्ण लोकतान्त्रीक शक्तिहरु एकजुट भई अगाडी बढ्नु आवस्यक छ । अतः यस बिषम परिस्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई संयमता र धैर्यता सहित बिचलित नभई एकतावद्ध र शसक्त रुपमा पार्टी काममा कृयाशिल हुन आग्रह गर्दछौ’ बक्तव्यमा भनिएको छ ।

एमालेले भदौ २३ र २४ गते जेन जी पुस्ताको नाममा सुरु गरिएको सामाजिक सञ्जालको स्वतन्त्र रुपमा प्रयोग, भ्रष्टाचारको निष्पक्ष छानबिन र कार्वाही, स्थिर सरकार र शुसासनको माग सहितको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा मुलुकले अकल्पनिय जनधनको क्षति बेहोर्नु परेको ठहर गरेको छ ।
‘सो क्रममा मृत्यु हुनेको संख्या हाल सम्म ७२ जना पुगेकोे पुष्टि भइसकेको छ । सर्व प्रथम यस आन्दोलनका क्रममा आफ्नो अमुल्य जिवन उत्सर्ग हुने सबै प्रति नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटी भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै घाइते हुनु भएका सबैको सिघ्र स्वास्थ्य लाभको कामना सहित राज्यसंग निशुल्क औषधि उपचारको ब्यवस्थाको समेत माग गर्दछ ।’
बक्तव्यमा आन्दोलनको आवरणमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का जिल्ला कार्यालयमा आगजनी गरि ध्वस्त पारिएको उल्लेख गरिएको छ ।
यसैगरी सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगर पालिका भवनमा आगजनी, कृष्णपुर र शुक्लाफँटाका बिभिन्न वडा कार्यालयमा तोडफोड लगायतको सार्वजनिक सम्पत्तिको तहसनहस गरिनुका साथै एमालेका पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज निरु देबी पाल, पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल र पार्टीका पूर्व जिल्ला अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको घरमा आगजनी गरि पुर्ण रुपमा नष्ट गरिएको वक्तव्यमा छ ।
कांग्रेस नेताहरु निवर्तमान गृहमन्त्री रमेश लेखक, प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरका नगर प्रमुख पदम बोगटी, नेकपा (समाजवादी) का नेता एबम् प्रदेश सभा सदस्य प्रकाश रावल लगायतको घरमा समेत आगजनी गरिएको एमालेको बक्तव्यमा उल्लेख छ ।

