

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित रेडियन्ट माध्यमिक विद्यालयमा शुक्रबार संविधान दिवस मनाईएको छ । सो अवसरमा विद्यार्थीहरुले नेपालको नक्सा र नेपालको राष्ट्रिय झण्डा बनाएर देशभक्तिका गीत गाएका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले संविधान देशको मूल कानून भएको हुँदा सबै जनताले संविधानको पालना गर्नु पर्ने र आफूहरुलाई जानकारी भएका विषयवस्तुबारे आपसमा छलफल समेत गरे ।



कार्यक्रममा विद्यालयका शिक्षक लोकेन्द्र भट्टले वर्तमान नेपालको संविधानको बारेमा चर्चा गर्नुका साथै विद्यार्थीहरुलाई नेपालमा संवैधानिक विकासक्रम, संविधानको महत्व र आवश्यकताको बारेमा जानकारी दिए ।
विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले संविधानले नागरिकलाई अधिकार र कर्तव्य दिएकोले यो दिवस स्वतन्त्रता, समानता र राष्ट्रिय एकताको प्रतिकको रुपमा मनाउँदै आएको बताए ।

उनले विद्यार्थीहरुलाई संविधानको बारेमा ज्ञान दिने उद्देश्यले विद्यालयमा संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरुले आगामी दिनमा विद्यार्थीलाई देशको संविधान र कानून प्रति सजक र जागरुक बनाउनुका साथै देशको उन्नतिमा योगदान गर्न सक्ने नागरिक बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


