ghar sansar

कञ्चनपुरमा यस वर्षदेखि सुरु हुँदैछ एक पालिका दुई उत्पादन कार्यक्रम

khasi

महेन्द्रनगर । कञ्चनपुरका सबै पालिकामा यस वर्ष एक पालिका दुई उत्पादन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । सुदूरपश्चिम सरकारको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सबै पालिकामा कार्यक्रम तर्जुमा गरी बजेट छुट्याएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर मार्फत कार्यक्रम कार्यान्वयन हुने छन् । जिल्लाभर सबैभन्दा पाँच पालिकामा आलु उत्पादन कार्यक्रम छ । बेदकोट, पुनर्वास, दोधारा चाँदनी, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकामा आलु उत्पादन कार्यक्रम राखिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बेलौरी नगरपालिकामा तोरी, लालझाडी गाउँपालिकामा दलहन, कृष्णपुर तरकारी र भीमदत्त नगरपालिकाकामा केरा खेती कार्यक्रम सञ्चालन हुन लागेको हो ।

सबै पालिकामा एक उत्पादनका एक कार्यक्रमका लागि ४० लाखका दरले बजेट विनियोजन भएको ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत गोबिन्द सिजापतिले जानकारी दिए ।

‘यस वर्ष हरेक पालिकामा एक पालिका दुई उत्पादन कार्यक्रम लागू गरिएको छ, त्यसका लागि मन्त्रालयबाट कार्यक्रम र बजेट छुट्याइएको छ’ प्रमुख सिजापतिले भने,‘सबै पालिकामा ४०÷४० लाखका दरले बजेट विनियोजन गरिएको छ ।’

सबैभन्दा बढी पालिकामा सञ्चालन गरिने आलु खेती कार्यक्रमबाट आलु उत्पादन, बजारीकरण र उद्यम व्यवसायलाई टेवा पुग्ने सिजापतिले बताए ।

कञ्चनपुरमा १८ सय १५ हेक्टरमा आलु खेती हुने गरेको छ । २८ हजार १ सय ३२ मेट्रिक टन आलु उत्पादन हुने गरेको ज्ञान केन्द्रको तथ्याङ्क छ । अहिले भारत र सुदूरपश्चिमका पहाडी जिल्लाबाट आलु आयात हुँदै आएको छ ।

‘जिल्लमा पनि अहिले आलुको धेरै उत्पादन छैन, भारत र यता पहाड डडेल्धुराबाट आलु आउँछ’ ज्ञान केन्द्र प्रमुख सिजापतिले भने ।

आलु र आलुको बीउ भण्डारणका लागि केही चिस्यान केन्द्र समेत बनाइने योजना छ । आलुलाई चिस्यान केन्द्रमा राख्न सके किसानले बेमौसमा बिक्री गरी फाइदा लिन सक्ने अपेक्षा गरिएको छ ।

हालसम्म पुनर्वास, दोधारा चाँदनी र बेदकोट नगरपालिकामा चिस्यान केन्द्र छन् । पुनर्वासमा नगरपालिका र सुदूरपश्चिम सरकारको कृषि निर्देशनालयले चिस्यान केन्द्र बनाएको छ ।

दोधारा चाँदनीमा विद्युत लाइन जोड्न नसकिएर चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । बेदकोटमा निजी क्षेत्रको चिस्यान केन्द्र छ । नगरपालिकाले अर्को चिस्यान केन्द्र निर्माण गरि रहेको छ ।

कृष्णपुर नगरपालिकामा यस यस वर्ष चिस्यान केन्द्र निर्माण हुनेछ । त्यसका लागि ५० लाख बजेट छ ।

बेलौरीमा तोरी उत्पादन राम्रो भएकाले तोरी खेतीका लागि छनौट गरिएको छ । हाल बेलौरीमा तोरी तेलका दुई उद्योग सञ्चालनमा छन् ।

dirghayi clinic

कृष्णपुरमा तरकारी खेती प्रवद्र्धन कार्यक्रमका लागि बजेट आएको छ । यस वर्ष कृष्णपुरमा परबल खेती कार्यक्रम सुरु गर्ने ज्ञान केन्द्रको तयारी छ ।

कृष्णपुरको बालुवाफाँटा तरकारी खेतीका जिल्लाभर परिचित छ । कृष्णपुरको तरकारी कैलाली र कञ्चनपुरका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

जिल्लाभर ४ सय ४१ हेक्टरमा केरा खेती भएर ८८ हजार २० मेट्रिक टन उत्पादन छ । भीमदत्त नगरपालिकाको पूर्व पश्चिम राजमार्गको उत्तरी क्षेत्र केरा खेतीका लागि उपयुक्त मान्ने गरिएको छ ।

भीमदत्त नगरपालिका केरा खेतीका लागि छनौट गरिएको छ । जिल्लाभर तोरी ६ हजार ९ सय ४४ मेट्रिक टन तोरी उत्पादन हुने गरेको छ । तोरी खेती ६ हजार २ सय हेक्टरमा हुने गरेको छ ।

लालझाडी गाउँपालिकामा दलहन खेती अन्र्तगत मसुरो कार्यक्रम प्रवद्र्धनका लागि कार्यक्रम छ । हाल जिल्लाभर ४ हजार ७ सय ६९ हेक्टरमा खेती भएर ३ हजार ७ सय ६८ मेट्रिक टन मसुरो उत्पादन हुने गर्छ ।

५ हजार ३ सय सय ३९ हेक्टरमा जिल्लाभर तरकारी खेती हुने गर्छ । तरकारी उत्पादन ४ लाख २६ हजार ६ सय ६७ मेट्रिक टन छ ।

कञ्चनपुरमा ७० प्रतिशत तरकारी स्थानीय उत्पादन हो । बाँकी ३० प्रतिशत तरकारी भारत र सुदूरपश्चिमका पहाडी र अन्य जिल्लाबाट आउने गरेको छ।

‘तरकारीमा आत्मनिर्भर छ, ७० प्रतिशत तरकारी यतैको छ’ ज्ञान केन्द्र प्रमुख सिजापतिले भने, ‘१२ महिनामा अधिकाँश सबै महिना तरकारी हुन्छ ।’

केन्द्र प्रमुख सिजापतिका अनुसार बर्खा यामका तीन महिना असार, साउन र भदौमा मात्रै बाहिरबाट तरकारी आउने गरेको छ ।

बर्खा याममा १० प्रतिशत तरकारी मात्रै भारतबाट आउने गरेको बताइन्छ । कर्णाली पारी सल्यान, प्युठानबाट २० प्रतिशत तरकारी आउने गरेको ज्ञान केन्द्रको भनाई छ ।

काउली, बन्दा, टमाटर, कर्णाली पारीबाट आउने गरेको छ । भारतबाट टमाटर, आलु, प्याज लगायतका तरकारी आउने गरेका छन् ।

केरा किसानका लागि जिल्लाका विभिन्न स्थानमा केरा चेम्बर स्थापना गरिएका छन् । भीमदत्त नगरपालिकाको तिल्केनी, महेन्द्रनगर बजार, कृष्णपुर, पुनर्वास र बेलौरीका केरा पकाउने चेम्बर छन् ।

एक पालिका दुई उत्पादन कार्यक्रम अन्र्तगत सबै क्षेत्रमा किसानसितको ५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

ज्ञान केन्द्रले सार्वजनिक सूचना आव्हान गरी कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सिजापतिले बताए ।

‘सूचना आव्हान गरी त्यस अनुसार किसान छनौट गरी कार्यक्रम अनुसार तोकिएको बाली उत्पादन र प्रवद्र्धनका लागि बजेट दिन्छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...