
बेलौरीमा हाकिमको निर्देशनपछि काममा फर्किए कर्मचारी, जोन जी सहितको सर्बपक्षीय बैठक गरी छलफल गर्ने नगरपालिकाको निर्णय


महेन्द्रनगर । प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि बेलौरी नगरपालिकाका कर्मचारी काममा फर्किएका छन् । जेन जी नाममा कार्यालयमा दैनिक भीडभाड र कर्मचारीमाथि अनावश्यक लाञ्छना लगाएर कामकाम गर्ने वातावरण नभएको भन्दै बुधबारदेखि कर्मचारीहरु सेवा प्रवाह बन्द गरी घर फर्किएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले मातहतका सबै कर्मचारीलाई नियमित रूपमा काममा फर्कन निर्देशन दिएका थिए । उनले सेवाग्राहीले पाउने नियमित सेवा अब बाधा रहित रूपमा सञ्चालन हुने स्पष्ट गरे ।
कर्मचारीहरु स्वास्थ्य सेवा बाहेक सबै बन्द गरी कार्यालय छाडेर निस्केपछि बेलौरी नगरपालिकामा असहज अवस्था आएको थियो ।

बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलको हस्ताक्षर रहेको पत्रमा “सेवाग्राहीलाई पर्न सक्ने समस्या मध्यनजर गर्दै असोज ८ गतेको विज्ञप्तिलाई फिर्ता लिइएको छ । बेलौरी जेन–जी तथा समर्थक समूहलाई सर्वपक्षीय बैठकमा बोलाएर छलफल गर्ने निर्णय भएको हुँदा सम्पूर्ण कर्मचारीले तत्काल सेवा प्रवाह सुचारु गर्न अनुरोध गरिन्छ” भनेर उल्लेख गरिएको छ ।
नगरपालिकाका सबै कर्मचारीले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी स्वास्थ्य सेवा बाहेकका सबै सेवा अनिश्चितकाल बन्द गरेका हुन् । बेलौरीमा भदौ २९ गतेदेअिख जेन जी र समर्थकको नाममा दैनिक कार्यालय भीडभाड भएर काम गर्ने वातावरण नभएको कर्मचारी बताउँछन् ।
भदौ २३ र २४ गते जेन जी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार सत्ताच्युत भएर पूर्व प्रधानमन्धत्रीपूर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
‘२०८२ भदौ २९ गतेदेखि निरन्तर जेन जी र समूह समर्थकद्वारा कार्यालयमा उपस्थित भई कार्यालयमा दैनिक सेवा प्रवाह तथा कार्य सम्पादनमा बाधा पुगाई रहेका छन्’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीलाई विभिन्न किसिमका कपोकल्पि लाञ्छना लगाई मनोबल घटाउने, कर्मचारीलाई कार्यालयमा काम गर्ने वातावरण खलबल्याई निरन्तर प्रदर्शन अराजकता प्रदर्शन गरि रहेकाले यस विषम परिस्थितिमा काम गर्ने वातावरण नरहेको हुँदा आजैका मितिबाट स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न असमर्थ रहेको व्यहोरा सबैमा जानकारी गराउँदै यसबाट नगरवासी एबम् सम्पूर्ण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौ ।’
बेलौरी नगरपालिकामा मंगलबार नयाँ प्रमुख प्रशासकीय अधिकृत रमेश बुढाथोकीको स्वागत गरिएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले कार्यभार सम्हालेको दोस्रो दिन बुधारदेखि सेवा प्रवाह बन्द गरिएको हो ।
जेन जी युवाले नगरपालिकालाई विभिन्न ६ बुँदे माग पत्र बुझाएका थिए । ‘जेन–जी बेलौरी तथा समर्थक’ समूहको नाममा नगर प्रमुख चौधरीलाई माग पत्र बुझाइएको थियो ।
नगरपालिकाले राजनीतिक आधारमा गरिएका सबै नियुक्ति खारेज, अलपत्र विकासका काम तुरुन्त सम्पन्न गर्न लगायतका मागहरु नगर प्रमुखसित राखिएका छन् ।
नगरपालिकाका सबै करार कर्मचारीलाई बर्खास्त गरिनु पर्ने, नगरभित्र अलपत्र परेका सबै सडकको यथाशीघ्र मर्मत–सम्भार, हाट बजारलाई पुनः सञ्चालन, फोहोर तथा ढल निकासको उचित व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र संविधान चोकलाई ‘जेन–जी चोक’ को रूपमा आधिकारिक घोषणा गर्नु पर्ने लगातयतका उनीहरुका माग छन् ।
जेन जी आन्दोलनपछि युवाले संविधान चोकलाई जेन जी चोक नामाकरण गरेका थिए । संविधान दिवसका दिन सबै राजनीतिक दलहरुले जेन जी चोक लेखिएको मेटाएर फेरि संविधान चोक बनाएका छन् ।
दलहरुले संविधान चोक बनाएपछि उनीहरु त्यसलाई फेरि जेन जी चोक बनाउनु पर्ने माग लिएर नगरपालिका पुगेका हुन् ।
