

महेन्द्रनगर । एमाले कञ्चनपुरको मंगलबार बसेको विस्तारित बैठकमा जिल्ला कमिटीका अधिकाँश सदस्य अनुपस्थित भएका छन् । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते पार्टी कार्यालय तोडफोड र आगजनी भएपछि मंगलबार पार्टी कार्यालयमा बिस्तारित बैठक बसेको थियो ।
बैठकमा जिल्ला कमिटीका १ सय ३९ सदस्यमध्ये ५४ जना उपस्थित भएको एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्दले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । विस्तारित बैठकमा सहभागी सदस्य संख्या ३८ प्रतिशत मात्रै हो ।

उप सचिव चन्दका अनुसार बैठकमा जनसंगठनका ३ जना अध्यक्ष मात्रै सहभागी भए । एमालेमा २२ जन संगठन छन् । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी सहभागी बैठकमा तीन सय नेता कार्यकर्तालाई बैठकमा आमन्त्रण गरिएको थियो ।
एमाले उप सचिव चन्दको अशोक चन्द सचिवालयबाट सार्वजनिक जानकारी अनुसार बैठकमा ७० देखि ७५ जना मात्रै सहभागी भएका छन् ।
यस अघि भदौ १ गते भएको जिल्ला प्रतिनिधि परिषद्मा पनि अधिकाँश सदस्य अनुपस्थित भएका थिए । ५ सय हाराहारी प्रतिनिधिमध्ये बैठकमा १ सय ९८ जना मात्र सहभागी भएका थिए ।


उप सचि चन्दले बैठकमा जिल्ला कमिटीको गणपुरक संख्या पनि नपुगेको उल्लेख गर्दैै समीक्षा गरिनु पर्ने बताएका छन् । ‘ती ५४ जना मात्र भए ।यो कमिटीको गणपुरक संख्या नै पुगेन। अनि यसको बिषयमा व्यापक समिक्षा गर्नु पर्दैन ?’ चन्दले भनेका छन् ।
उप सचिव चन्दले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्क्रिन सर्ट पठाउने गरिएको पनि खुलासा गरेका छन् । उनले पार्टीको वास्तविक अवस्थाबारे जानकारी गराउन पनि सुझाव दिएका छन् ।
‘स्क्रीन सर्ट मात्र केन्द्रिय अध्यक्ष कमरेडलाई बुझाउने कि पार्टीको वास्तविक अवस्थाका बारेमा पनि बुझाउने कमरेड? बोल्ने, लेख्ने, बिचार व्यक्त गर्ने कुरामा प्रतिबन्ध लगाउने यो गणतन्त्रमा कुन दुनियाँको निरंकुश तानाशाह हो तपाई कमरेड? अनि बैठकको प्रमुख एजेन्डालाई मुर्दावाद भन्ने? बैठकको एजेन्डा एकातिर बोल्ने आर्कोतिर लैजाने? बैठकलाई बिषयान्तर गर्न मिल्छ? राणा , पन्चायत र राजाको तानाशाह त टिकेन, बिचारा आर्शिवादले प्राप्त गरेका स्वघोषित वालाको फर्जि तानाशाह कति दिन रहन्छ? बाचे भने सबै देखिन्छ’ चन्दले भनेका छन् ।
विस्तारित बैठकपछि सामाजिक सञ्जालबाट बैठक सम्बन्धि धारणा सार्वजनिक गरेपछि उनले छिटो स्क्रिन सर्ट पठाउन समेत आग्रह गरेका छन् ।
एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट उप सचिव भएका चन्द जेन जी आन्दोलनपछि एमाले रुपान्तरणका लागि दबाव दिँदै आएका छन् ।
एमाले कञ्चनपुरका नेताहरुले उप सचिव चन्दले सामाजिक सञ्जालबाट सार्वजनिक धारणलाई अध्यक्ष ओलीसम्म स्क्रिन सर्ट गरी पठाउने गरेको नेताहरु बताउँछन् ।
नवौ जिल्ला अधिवेशनमा अध्यक्षका दाबेदार चन्द सर्वसम्मत जिल्ला कमिटी बनाउन उप सचिव भएका थिए । उनी बेदकोट नगरपालिकाका निवर्तमान मेयर हुन् ।

