
यति मात्तिएको रहेछ भीमदत्तको नगर प्रहरी
अपाङ्गता भएका व्यवसायी र छोरीमाथि दुव्र्यहार, छोरीमाथि हातपातकै प्रयास

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नगर प्रहरीले सिद्धनाथ मन्दिरस्थित शिशिर अनलाइनका सञ्चालक बहादुर रावल र उनकी छोरीमाथि दुव्र्यवहार गरेका छन् ।
मंगलबार दिउँसो अनलाइनमा नगर प्रहरीले रावल र उनकी छोरी चन्द्रा रावलमाथि दुव्र्यवहार गरी पसल बन्द गर्ने प्रयास गरेका छन् ।

रावलकी छोरी चन्द्रामाथि महिला नगर प्रहरीले हातपात प्रयास गरेकी छन् । ती नगर प्रहरीले चन्द्रालाई हात समातेर पसलबाट बाहिर ल्याएकी थिइन् । जन प्रहरीले नगर प्रहरीको हात छुटाई दिएका छन् ।
नगर प्रहरी दिउँसो शिशिर सहित सिद्धनाथ मन्दिर क्षेत्रमा चार अनलाइन सेवामा पुगेको थियो । उनीहरुसित भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा पनि थिए ।
वडा अध्यक्ष थापा सहित अनलाइन सेवामा पुगेर नगर प्रहरीले चार ओटैलाई सटर बन्द गर्न निर्देशन दिएका थिए । शिशिर अनलाइन सेवामा सञ्चालक रावल र वडा अध्यक्ष थापाबीच विवाद भएपछि नगर प्रहरीले दुव्र्यवहारमा उत्रिएको हो ।
वडा अध्यक्ष थापा आफैंले सामाजिक सञ्जालबाट रावलसित भएको विवादको भिडियो लाइभ गरेका छन् । वडा अध्यक्ष थापा र रावलबीच केही चर्काचर्की भएको भिडियोमा छ ।

वडा अध्यक्षसित चर्काचर्की बढेपछि नगर प्रहरीले पसलभित्र पसेर दुव्र्यवहार गरेको हो ।
मतदाता दर्ता शुल्कको विषयलाई लिएर नगर प्रहरी त्यहाँ पुगेको हो । चार ओटै अनलाइन सेवाले मतदाता दर्ताको दुई सय रुपैँया शुल्क लिने गरेका छन् । यो शुल्क बढी भएको भन्दै विवाद भएपछि एकाएक नगर प्रहरी त्यहाँ पुगेको हो ।
नगर प्रहरीसंगै जनपद प्रहरी पनि त्यहाँ पुगेको थियो । जनपद प्रहरी भन्दा अघि बढेर नगर प्रहरी आक्रामक भएर रावल र उनकी छोरीमाथि दुव्र्यवहारमा उत्रिएको हो ।
‘वडा अध्यक्ष र नगर प्रहरी गुण्डागर्दीमा आएर म र मेरो छोरीमाथि दुव्र्यवहार गरे, म अपाङ्गता भएका व्यक्तिमाथि अत्यन्तै घृणित व्यवहार गरियो’ रावलले भने,‘सटर तानेर पसल नै बन्द गर्ने प्रयास गरियो ।’
रावलले नगर प्रहरी आउन अघि पुनर्वास र बेलौरी टाढाबाट आएको भन्दै आएको एक समूहले निःशुल्क मतदाता दर्ताका लागि विवाद गरेको थियो । उनीहरु विवाद गरी निस्किएपछि नगर प्रहरी पसलमा पुगेको थियो ।
अपाङ्गता भएका रावलमाथि यस अघि पनि नगर प्रहरीले दुव्र्यवहार गरेको थियो । त्यहीं बेलादेखि उनी नगर प्रहरीको निशानामा पर्दै आएका छन् । रावलले मंगलबार पनि नगर प्रहरी आफूसितको पुरानो रिसिइबी साँधेर आएको हुन सक्ने बताए ।
‘मसित पहिलादेखि नै विवाद छ, त्यहीं रिसिइबीले आज पनि आएका हुन सक्छन्’ उनले भने ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले मतदाता दर्ता शुल्क सम्बन्धि विवादलाई लिएर नगर प्रहरी सिद्धनाथ मन्दिर क्षेत्रमा पुगेको जानकारी दिए ।
