
भीम रावल नेकपा प्रवेशपछि एमाले स्थायी कमिटी सदस्य थापा भन्छन्–पार्टीमा जोड्न कोही लागेको छैन, बरू भएकालाई खेद्न एउटा पंक्तिको रहष्यमय सक्रियता छ

महेन्द्रनगर । एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता बाँकी नभएको भन्दै पार्टीमा भएकालाई लखेट्न एक समूह सक्रिय रुपमा लागेको खुलासा गरेका छन् ।
एमालेले पार्टीबाट कारवाही गरी हटाएका भीम रावल बुधबार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नेता थापाले सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता पार्टीसित नभएको बताएका हुन् ।

‘सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसंग रहेन । पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, जोेड्न कोही लागिपरेको पनि देखिएको छैन। बरू भईरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहष्यमय सकृयता रहेकैछ।’ थापाले सामाजिक सञ्जालमा भनेका छन् ।
थापाले बुधबार सामाजिक सञ्जालमा भीम रावलको नाम नलिई आफ्नो धारणा राख्दै वर्षाैका सहयोद्धा पार्टीबाट बाहिरिँदा मन चसक्क हुने उल्लेख गरेका छन् । पार्टीभित्र मत भिन्नता, आन्तरिक संघर्ष र मनमुटाव जायज भए पनि नियोजित रुपमा पार्टीभित्र बस्न नदिने व्यवहार उचित हुन नसक्ने थापाले बताएका छन् ।
यस्तो छ सामाजिक सञ्जालमा व्यक्त नेता थापाको धारणा

दुरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसंग रहेन । पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, जोेड्न कोही लागिपरेको पनि देखिएको छैन। बरू भईरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहष्यमय सकृयता रहेकैछ ।
दशकौ पार्टी काममा सहयोद्वाका रूपमा काम गरेका कमरेडहरू पार्टीबाट बाहिरिदा मन चसक्क हुदो रहेछ । पार्टी भित्र रहदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ । अलिअलि मन मुटाव पनि स्वभाविकै हुन्छ । तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यबहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन । अनेक समयमा पार्टीबाट बाहिरिने साथीहरूको म संग कुनै गुनासो छ भने त्यसका लागि म क्षमा माग्न चहान्छु, यस प्रदेशको एक अगुवाका हैसियतले ।
निकै प्रतिकुल समयमा महत्त्वपूर्ण योगदान गरेका कमरेडहरू सहज परिस्थितिमा एकताबद्ध भएर देशको शंकट टार्न लाग्गु पर्ने थियो । हामी भित्र हुर्केको अराजनीतिक सोचले हामीलाई एक ठाउँमा रहन दिएन । भोलीका दिन अझै कठिन हुनेछन । अरूको अबसानमा आफ्नो भविष्य देख्ने परपीडक सोचले सबैलाई खरानी बनाउनेछ ।
१६÷ १७ वर्षको कलिलो उमेरमै राजनीतिक काममा हाम फालियो । थुप्रै चुनौतीको सामना गरियो, लडाइँ लडियो । हारको पीडा पनि भोगियो, विजयको उत्सब पनि मनाईयो । देश, दुनियाँ देखियो, भोगियो तर यस पटकको जस्तो अभिमान र प्रतिस्ठाको लडाइँले उत्पन्न गरेको आगोले जलेको देश कहिल्यै देखेको थिईन ।
जो जहाँ हुनुहुन्छ सत्यको पक्षमा रहनु होला । देश, जनता र क्रान्ति लाई धोखा नदिनु होला । आफ्नो स्वार्थको लागि लक्ष्य नभुल्नुहोला । सबैलाई एक बनाउने र सकेको सहयोग गर्ने मेरो संकल्पबाट म कहिल्यै पछि हट्ने छैन ।
एमालेका यस प्रदेशका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई यथार्थको जगमा उभिएर दृढताका साथ पार्टीमा सकृय रहन अपिल गर्दछु ।
