
डायमण्ड एकेडेमीका पूर्व विद्यार्थी भट्टले निकाले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा नाम, विद्यालयमा गरियो सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीस्थित डाईमण्डड एकेडेमीले चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा प्रवेश परीक्षा उत्तीर्ण पूर्व विद्यार्थी एस राज भट्टलाई सम्मान गरेको छ ।
विद्यालयमा बिहीबार औपचारिक कार्यक्रमम गरी विद्यार्थी भट्ट सहितका उनका आमा बुवालाई पनि सम्मान गरिएको छ । पूर्व विद्यार्थी भट्टलाई टिका, माला र खादा लगाएर सम्मान गरिएको छ ।


नर्सरीदेखि डायमण्डमा अध्ययन गरेका भट्टले २०७८ मा विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए । त्यसपछि रेडियन्ट माध्यमिक विद्यालयबाट आइ एस्सी गरेका भट्टले यस वर्ष चिकित्सा अध्ययनका लागि सरकारको पूर्ण छात्रबृत्तिको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।

एमबीबीएसका लागि छात्रबृत्तिमा प्रवेश परीक्षा उत्तीर्ण भट्टका आमा बुवा किसान हुन् । उनी विद्यालयमा नर्सरीदेखि पढाईमा अब्बल भएको विद्यालयका प्रिन्सिपल डा. हिरा चन्दले बताए ।

‘नर्सरीदेखि यहाँ पढेका हुन्, पढाईमा सानैदेखि राम्रो थिए, किसान परिवारका हुन्, समान्य परिवारका एउटा हाम्रो विद्यार्थीले पूर्ण छात्रबृत्तिमा नाम निकाल्न हामी सबैका लागि गौरब हो’ डा. चन्दले भने ।
चिकित्सा शिक्षा आयोगले केही दिन अघि एमबिबिएसको प्रवेश परीक्षा लिएको थियो । त्यसमा भट्ट प्रवेश परीक्षा उत्तीर्ण गरी एमबीबीएस पढ्ने बाटोमा अघि बढेका छन् ।

