

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा प्रदान गर्ने बिभिन्न निकायहरुको एकीकृत वार्षिक समीक्षा सोमबार डोटीको राजपुर डोटीमा सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको एकीकृत वार्षिक समिक्षा कार्यक्रम स्वास्थ्य निर्देशानालाय राजपुर डोटीमा सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि डडेल्धुरामा र कैलालीको गेटामा संघीय अस्पताल छन् भने सेती, महाकाली,बयलपाटा र टिकापुर गरि ४ वटा प्रादेशिक अस्पतालले उपचारात्मक लगायतको स्वास्थ्य सेवा प्रदान गरि रहेका छन् ।

त्यसै गरि बैतडी , दार्चुला , डोटी बझांग , अछाम र बाजुरामा प्रदेश को जिल्ला अस्पताल मातहत स्वास्थ्य सेवा दिने काम भै रहेको छ ।
९ वटा जिल्लामा प्रतिकारात्मक प्रवर्धनात्मक लगायतको स्वास्थ्य सेवा दिन र तिन तहको सरकार बीच समन्वय को काम गर्नको लागि स्वास्थ्य कार्यालय हरु संचालनमा रहेका छन् ।आयुर्बेद स्वास्थ्य सेवा प्रदान गर्नको लागि कैलालीमा प्रादेशिक आयुर्बेद चिकित्सालय , कंचनपुरमा आयुर्बेद औषधालय र अन्य पहाडी ७ जिल्लामा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र संचालन मा रहेको कुरा स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा खगेन्द्र बहादुर बमले बताए ।
एकीकृत वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रममा स्वास्थ्य सूचकांकको आधारमा आर्थिक वर्ष २०८१।०८२ मा सम्पादित कार्यक्रमहरुको आधारमा अस्पतालहरु मध्ये जिल्ला अस्पताल अछाम ले प्रथम , महाकाली प्रादेशिक अस्पतालले द्वितीय र जिल्ला अस्पताल डोटीले तृतीय स्थान हासिल गरेका छन् ।
त्यसै गरि स्वास्थ्य कार्यालय तर्फ डडेल्धुरा प्रथम , द्वितीय डोटी र तृतीय स्थान कैलालीले हासिल गरेका छन् ।आयुर्बेद स्वास्थ्य केन्द्र तर्फ भने प्रथम स्थान बाजुरा , द्वितीय स्थान दार्चुला र तृतीय स्थान बझांग आयुर्बेद स्वास्थ्य केन्द्रले हासिल गरेको कुरा स्वास्थ्य निर्देशनालय डोटीका तथ्यांक अधिकृत महेश बोहराले बताए ।
संघियता पश्चात पहिलो पटक प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा दिपायल डोटीमा सम्पन्न गरिएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीले यसपालिको समिक्षा कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न गरेको , सुशासन कायम हुने गरि न्युनतम खर्चमा कार्यक्रम संचालन गरिएको , जेन्जी आन्दोलनको भावना अनुसार र सरकारको निर्देशन अनुसार समेत कम भन्दा कम खर्चमा सम्पन्न हुने गरि अतिथि हरुलाई स्वागत गर्नको लागि प्रयोग हुने व्याज समेत पिपलको पातमा बनाएर स्वागत गरिएको कुरा तथ्यांक अधिकृत धर्मानन्द गिरीले बताए ।
समिक्षा कार्यक्रममा प्रदेशको स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने बिभिन्न संस्था र कर्मचारी सहित ४१ जनालाइ सम्मान पत्र , कदर पत्र र ३ जना स्वास्थ्यकर्मिको सडक दुर्घटनामा ज्यान गएको हुनाले मरणोपरान्त सम्मान पत्र समेत प्रदान गरिएको छ ।
संघीय सरकारका प्रतिनिधि ,प्रदेश सरकारका प्रतिनिधि , स्थानीय तह र सरोकार वाला अन्तर्राष्ट्रिय ÷राष्ट्रिय गैर सरकारी संस्थाको समेत सहभागितामा प्रदेशवासीको स्वास्थ्य स्तर उकास्नको लागि बिभिन्न १३ बुदे राजपुर डोटी घोषणापत्र समेत जारी गरिएको छ ।
राजपुर प्रतिवद्धता पत्र, २०८२
१. प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निकायहरुले बेरुजु न्यूनीकरण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुधार गर्ने ।

२. स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदेशमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पहल गर्ने ।
३. स्वास्थ्य उपचारमा खल्तीबाट हुने खर्चलाई न्यून गर्न सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा ४०% व्यक्तिलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुले अनिवार्य स्वास्थ्य बिमा गर्न पहल गर्ने ।
४. आर्थिक रुपले अति विपन्न महिलाको मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि ८८ वटै स्थानीय तहलाई निश्चित प्रदेश कानून बमोजिम सशर्त अनुदान दिने कानूनी व्यवस्था कार्यान्वयन गर्न पैरवी गर्ने ।
५. प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निकायहरुले उपलब्ध गराउनु पर्ने नि:शुल्क औषधि तथा औषधिजन्य सामग्रीको बर्षभरी उपलब्धता सुनिश्चितता गर्ने ।
६. सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई विस्तार गर्दै CEONC/ BEONC/ प्रसूति केन्द्रहरुको गुणस्तर अभिवृद्धि गर्ने ।
७. स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउँन क्रमिक रुपमा प्रयोगशाला भएका रणनैतिक स्वास्थ्य चौकीमा टेलि मेडिसिन/कन्सल्टेन्ट सेवालाई विस्तार गर्न सहकार्य गर्ने ।
८. स्थानीय तहहरुको सहकार्यमा नसर्ने रोग, मानसिक स्वास्थ्य तथा कुपोषण समस्याको शीघ्र पहिचान, निदान र उपचारका लागि स्क्रिनिंग,उपचार तथा परामर्श कार्यक्रमलाई जोड दिने ।
९. जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रहरुको भौतिक पूर्वाधार सुदृढीकरण गर्दै क्रमशः स:शुल्क फार्मेसी सेवा र क्षारसुत्र सेवा विस्तार गर्ने ।
१०. सामाजिक विकास मन्त्रालयले प्रत्येक प्रादेशिक/जिल्ला स्थित स्वास्थ्य निकायहरुको कार्य विवरण बनाउने र संस्था प्रमुखले संस्थाको कार्य विवरण अनुसार प्रत्येक कर्मचारीहरुको कार्य विवरण तयार गर्ने र सोही अनुसार कार्य सम्पादन सम्झौता गर्ने |
११. स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेशभरी मापदण्ड विपरित संचालित अवैध अभ्यासलाई नियन्त्रण गर्दै निजि स्वास्थ्य संस्थाहरुको नियमन सहजीकरण कार्यमा जोड दिने ।
१२. प्रदेश सरकार भित्रका सरकारी अस्पताल/स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन डिजिटलाईजेशन साथै Family Health Profile गर्न पहल गर्ने ।
१३. कैलाली, अछाम, कंचनपुर र डडेल्धुरा लगायतका बढी रोगभार भएका जिल्लामा क्षयरोग, कुष्ठरोग, एचआईभी संक्रमण तथा कीटजन्य रोगको भार पहिचान गरि संक्रमणबाट बचाउनका लागि सक्रिय खोजपडताल गर्ने ।
नोट : आगामी आर्थिक बर्षको बार्षिक समीक्षामा यस प्रतिबद्धता पत्रको समिक्षा गरिनेछ |
