
कञ्चनपुर ३ मा ४ महाधिवेशन प्रतिनिधिका लागि एमाले पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध


महेन्द्रनगर । एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्ट सहित ११ जनाले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।एमाले पार्टी कार्यालयमा बुधबार खुला, युवा र महिलामा १२ जनाले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्व साँसद भट्ट खुलाबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएका छन् । खुलामा भट्ट सहित ६ जना उम्मेदवार छन् । उनीहरुमा महेश प्रसाद पन्त, जनकराज अवस्थी, किशोर कुमार लिम्बु, विष्णु कँडेल र ओमकार पन्त छन् ।


उनीहरुमध्ये पन्त एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य, अवस्थी एमाले कञ्चनपुर उपाध्यक्ष र लिम्बु दोधारा चाँदनी नगरपालिकाका मेयर हुन् । कँडेल र पन्त जिल्ला कमिटी सदस्य छन् । महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. ३ बाट खुलामा २ जना निर्वाचित हुने छन् ।
महाधिवेशन प्रतिनिधिमा महिलातर्फ चिनी गिरीले उम्मेदवारी दिएकी छन् । गिरीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कमला भट्ट आकाँक्षी थिइन् । गिरी र भट्टबीच छलफलपछि सहमतिमा गिरी प्रतिनिधि भएकी छन् ।


गिरी दोधारा चाँदनी नगरपालिकाकी निवर्तमान उप मेयर हुन् । उनी यस अघि नेपालगञ्जमा भएको एमालेको चौथो महाधिवेशनमा प्रतिनिधि भएकी थिइन् । उनी अखिल नेपाल महिला संघकी अध्यक्ष हृुन् । निर्वा्चन समितिले गिरीको निर्विरोध भएको आधिकारिक रुपमा घोषणा गरेको छैन ।
निर्वाचन क्षेत्र नं. ३ बाट खुलामा दुई सहित युवा र महिला एक÷एक प्रतिनिधि निर्वाचित हुने छन् । युवामा एक जनाका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुमा ओम बस्नेत, केशब चन्द, श्याम भट्ट र नरेन्द्र सिह कार्की हुन् । युवामा एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द र युवा संघका नेता प्रशान्त भट्ट पनि उम्मेदवार हुने चर्चा थियो । उनीहरु दुबै जना अन्तिम समयमा पछाडि हटेका हुन् ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले साँझ ४ बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको जानकारी दिए ।

प्रमुख निर्वाचन कार्कीका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म उम्मेदवारीमाथि दावी र विरोध र त्यसपछि १ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि एक हजार तीन सय ८२ मतदाताले मतदान गर्न सक्ने छन् ।
कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । मंसिर १३ गते प्रतिनिधि चयन हुने छन् ।
