ghar sansar

कञ्चनपुरका ईश्वरी खरेल सहित चार नेताले गर्दैछन् सुदूरपश्चिमबाट एमाले पदाधिकारीमा दाबी

khasi

महेन्द्रनगर । एमालेबाट सुदूरपश्चिमका प्रभावशाली नेता तथा १०औं महाधिवेशनका अध्यक्षका प्रत्याशी भीम रावल बाहिरिएपछि प्रदेशमा नयाँ शक्ति सन्तुलन सिर्जना भएको छ ।

रावलको अनुपस्थितिलाई भर्ने उद्देश्यले सुदूरपश्चिमका चार नेताहरू लेखराज भट्ट, कर्ण थापा, गणेश ठगुन्ना र ईश्वरीप्रसाद खरेल पदाधिकारी स्तरमै प्रतिस्पर्धामा उत्रने गरी सक्रिय भएका छन् ।

बहालवाला सचिव लेखराज भट्टले यस महाधिवेशनमा एक तह प्रमोशनको अपेक्षा पार्टी नेतृत्वसमक्ष राखेका स्रोत बताउँछन् । भट्ट अहिले सचिव पदमा छन् । उनी सर्वोच्च अदालतको फैसलापछि माओवादीबाट एमालेमा फर्किएका वरिष्ठ नेतामा पर्छन् ।

कर्ण थापा भने विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी यसपटक प्रमुख प्रवेशद्वार मानिने सचिवका आकांक्षी हुन् ।
पार्टीका पुराना नेता गणेश ठगुन्नाले पनि सचिव पदमै प्रतिस्पर्धा गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै जानकारी गराइसकेका छन् ।

dirghayi clinic

ईश्वरीप्रसाद खरेलले पनि लेखा आयोगको उपाध्यक्ष पदमा आफ्नो दाबी रहेको सार्वजनिक रूपमा बताएका छन् । खरेल संगठनको भूगोल आधारित संरचनाबाट उदाएका स्थिर कार्यकर्तामा गनिन्छन् ।

पदाधिकारी तहमा यी चार नेताले दाबी गरे पनि सुदूरपश्चिमका अन्य नेताहरू भने केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

केन्द्रीय सदस्यमा निरन्तरताका लागि चाहना देखाएका नेताहरूमा निरु पाल, दामोदर भण्डारी, भैरव बहादुरसिंह, राजेन्द्र रावल, झपट रावल, ऐनसिंह महर, नारायणमुनि राना, लालबहादुर थापा, तारा लामा तामाङ लगायतका वरिष्ठ नेताहरू समावेश रहेको सुदूरपश्चिमका एक नेताले जनाएका छन् ।

यसैगरी  नयाँ पुस्ताका एलवि सिंह, लोकेन्द्र सिंह, बचन बहादुर सिंह, डाक्टर दीपक प्रकाश भट्ट, नरेश रोकाया, गोविन्द गिरी, तीर्थ भट्टराई र चक्र मल्ललगायतका युवा नेताहरूले यसै महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्यु गर्दै प्रतिस्पर्धामा उत्रने तयारी गरिरहेको नेताहरूले जानकारी दिए ।

सुदूरपश्चिमतर्फ पदाधिकारीमा सीमित संख्याको दाबी भए पनि केन्द्रीय सदस्यतिर नयाँ तथा पुराना दुवै पुस्ताको चहलपहल बढेपछि एमालेको ११औं महाधिवेशनमा प्रदेशको प्रभावकारी उपस्थिति रहने देखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...