

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य एबम पूर्व गृहमन्त्री रमेश लेखक सहित तीन जना सिफारिश भएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा शुक्रबार उम्मेदवारका आकाँक्षीहरुसित छलफलपछि प्रतिनिधि सभा प्रत्यक्षमा लेखक सहित प्रेम बहादुर विष्ट र शंकर बहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ ।

प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिशमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिश भएका छन् ।
पूर्व गृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी यस अघि २०५६, २०७०, २०७४ र २०७९ मा यस क्षेत्रबाट निर्वाचन लडेका छन् ।
काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिएको बताए ।
प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर सिफारिश गरिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ३ नम्बरबाट १३ जना आकाँक्षीको नाम सिफारिश गरिएको छ । उनीहरु रमेश दयाल लगायत नेताहरु छन् ।
काँग्रेस क्षेत्रीय समितिले जिल्ला समितिमा सिफारिश गरेपछि उम्मेदवारका नाम प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पुगेर उम्मेदवारको अन्तिम टुङ्गो लाग्नेछ ।
पूर्व गृहमन्त्री लेखकले उम्मेदवारीका लागि वारेशनामा मार्फत निवेदन दर्ता गराएका हुन् ।
जेनजी आन्दोलपति सरकारले उनलाई स्थानहद गरेकाले उनी गृह जिल्ला आउन नसकेका हुन् । लेखक २०५६ मा पहिलो पटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् ।
त्यसपछि लेखक अन्तरिम विधायक, २०६४ मा समानुपापतिक संविधान सदस्य, २०७० मा संविधान सभा सदस्य र २०७९ मा संसदमा निर्वाचित भएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । जेन जी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा लेखक फेरि प्रतिनिधि सभा प्रत्यक्षमा चुनाव लड्न लागेका हुन् ।
काँग्रेस कञ्चनपुरका पूर्व उप सभापति गोपाल सिह गुरुङ्गले कञ्चनपुर ३ बाट सिफारिश लेखक पार्टी र जनता दुबैमा परिचित र बलियो उम्मेदवार भएको बताए ।

