
कञ्चनपुरबाट अत्यधिक मत पाएर महाधिवेशन प्रतिनिधि बनेका पूर्व साँसद भट्टले लड्दै छन् एमाले केन्द्रीय सदस्य चुनाव


महेन्द्रनगर । कञ्चनपुरबाट अत्यधिक मत पाएर महाधिवेशन प्रतिनिधि भएका पूर्व साँसद डा. दिपकप्रकाश भट्ट एमालेको ११ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका छन् ।
काठमाडौको भृकुटीमा जारी एमाले महाधिवेशनको बन्द सत्रमा सोमबार डा. भट्टले सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ को आम निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट भट्ट साँसद निर्वाचित भएका थिए । एमालेमा भट्ट बौद्धिक र स्वच्छ छविको नेताका रुपमा परिचित छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्तापछि डा. भट्टले चुनावी प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताए ।
‘यो पार्टीको चुनावी प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको अभ्यास हो, यसमा स्वस्थ र स्वच्छ हिसाबले प्रतिस्पर्धा हुन्छ’ उनले भने ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट भट्ट महाधिवेश प्रतिनिधि छन् । उनी मंसिर १३ गते भएको प्रतिनिधि छनोट निर्वाचनमा दुई तिहाई मत ल्याएर निर्वाचित भएका थिए । भट्टले मतदानमा खसेको ८ सय १६ मतमा ५ सय ६७ मत पाएका थिए । ३ नम्बर क्षेत्रमा खुल्ला र युवा प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।
भट्टले यस अघि १० औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य हुन चाहना राखेका थिए । केही समय एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भएका उनी संगठित सदस्य भएर पार्टी काममा सक्रिय रुपमा लागेका थिए ।
एमाले केन्द्रीय कमिटीमा सुदूरपश्चिम भूगोलबाट ५ खुल्ला, ३ महिला र १ युवा सहित ९ जना निर्वाचित हुने छन् ।
एमाभित्र पार्टी र जनता दुबैमा लोकप्रिय भएकाले महाधिवेशन प्रतिनिधिमा अत्यधिक मत पाएको चर्चा चलेको थियो । २०७९ को आम निर्वाचनमा पूर्व गृहमन्त्री रमेश लेखकलाई पराजित गरी आफूलाई बलियो नेता प्रमाणित गरेका थिए ।
