

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व गृहमन्त्री रमेश लेखक सहित नेताहरु शंकर बहादुर चन्द र प्रेम बहादुर विष्टको नाम सिफारिश गरेको छ ।
उनीहरुमा लेखक काँग्रेस केन्द्रीय सदस्य, चन्द काँग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष र विष्ट महाधिवेशन प्रतिनिधि छन् । विष्ट यस अघि २०७९ को निर्वाचनमा पनि उम्मेदवारका लागि सिफारिश गरिएका हुन् ।

तीन जनामध्ये काँग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि सिफारिशमा परेका हुन् । उद्यमी चन्द नेपाल इटा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हुन् ।
प्रतिनिधि सभा सदस्यका लागि सिफारिश चन्द पार्टीले टिकट दिए चुनाव लड्ने मनस्थिति बनाएर अघि बढेका छन् । चन्दले विभिन्न सार्वजनिक कार्यक्रमबाट आफू उम्मेदवारीका लागि सिफारिश भएको र टिकट पाए सहयोगका लागि आग्रह गरि रहेका छन् ।
शनिबार भीमदत्त नगरपालिकाको सभा कक्षमा सफल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभामा नेता चन्दले सहयोगका लागि आग्रह गरे ।
साधारण सभाका विशिष्ठ अतिथि चन्दले आफ्नो मन्तव्यको अन्तिमतिर आफू उम्मेदवारीका लागि सिफारिश भएको जानकारी गराएका हुन् । त्यस अघि उनले सहकारी सहितको आर्थिक क्षेत्रबारे आफ्नो मन्तव्य राखेका थिए ।
‘म राजनीतिक दलमा पनि सदस्य छु, मलाई पनि पार्टीले उम्मेदवार सिफारिश गरेको छ, टिकट पाई हाले भने मलाई पनि सहयोग गर्न होला भन्ने अनुरोध गर्छु’ मन्तव्य समापन गर्दै उनले भने ।
काँग्रेसको १४ औं महाधिवेशनबाट चन्द जिल्ला उप सभापतिमा चुनाव लडेका थिए । उप सभापतिमा चन्द पराजित भएका थिए ।
कञ्चनपुर काँग्रेसका संस्थापनका लेखक र एनपी साउँद तथा संस्थापन इतर दिवान विष्टका तीन समूह छन् ।
चन्द पूर्व गृहमन्त्री लेखक समूहका हुन् । १४ र्औ अधिवेशनमा लेखक समूहका पदम बोगटी जिल्ला सभापति निर्वाचित भएका थिए । उनी अहिले भीमदत्त नगरपालिकाको मेयर छन् । १४ महाधिवेशन अघि बोगटी एनपी समूहमा थिए ।
प्रतिनिध सभा सदस्यका लागि पूर्व गृहमन्त्री लेखकसँगै चन्द पनि सिफारिश भएपछि कञ्चनपुर ३ मा उनलाई लेखकको उत्तराधिकारीका रुपमा हेर्न थालिएको छ ।
काँग्रेस नेताहरु फागुन २१ गतेको चुनावमा लेखकले चुनाव लड्न सक्ने अवस्था हुन नसके चन्द उम्मेदवार हुने बताउँछन् ।

‘फागुन २१ गतेको चुनावमा रमेश लेखकले टिकट पाउनेमा कुनै शंका नै छैन, वहाँ निश्चित रुपमा टिकट पाउनु हुन्छ, कथम्कदाचित यो छानबिनको नाममा तलमाथि भयो, चुनाव लड्न सक्ने अवस्था हुन सकेन भने शंकर चन्द क्षेत्र नं. ३ मा चुनाव लड्न हुन्छ’ काँग्रेस कञ्चनपुरका एक पदाधिकारीेले भने,‘त्यहीं सबै कुरा हेरेर नै वहाँको नाम पनि पठाएको हो ।’
भदौ २३ गते जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्यु भएपछि लेखकले राजीनामा दिएका थिए । जेन जी आन्दोलनमा भएको मृत्यु, तोडफोड र आगजनी लगायतका घट्ना छानबिनका लागि गठित कार्की आयोगको सूचीमा लेखक पनि छन् ।
आयोगले लेखकलाई उपत्यका बाहिर जान रोक लगाएको छ । स्थान हद गरिएका कारण लेखक जेन जी आन्दोलनपछि गृह जिल्ला फर्किन सकेका छैनन् ।
आयोगले लेखकलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक बयानका लागि बाँकी छन् ।
लेखकलाई आयोगबाट हुने सम्भावित सिफारिशलाई मध्यनजर गरी कञ्चनपुर ३ बाट चन्दलाई उम्मेदवारका लागि सिफारिश गरिएको नेताहरु बताउँछन् ।
कञ्चनपुर ३ मा लेखक २०५६ देखि चुनाव लड्दै आएका छन् । पहिलो पटक २०५६ मा चुनाव लडेर निर्वाचित भएका उनले हालसम्म २०७४ बाहेक सबै चुनाव जितेका छन् ।
लेखक २०५१ को मध्यावधि निर्वाचन लडेर साँसद हुन चाहन्थे । काँग्रेसले मध्यावधि निर्वाचनमा अर्का केन्द्रीय सदस्य एनपी साउँदलाई टिकट दिएको थियो । उनी फराकिलो मत अन्तरले पराजित भएका थिए ।
साउँदपछि २०५६ मा चुनाव लडेका लेखक पहिलो प्रयासमै साँसद निर्वाचित भएका हुन् । त्यसपछि २०७४ बाहेक सबै निर्वाचनबाट संसद भएका छन् ।
२०६४ को संविधान सभा सदस्य निर्वाचनबाट लेखक समानुपातिक साँसद भएका थिए । २०७० मा उनी संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
२०७४ मा उनी एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भए । २०७९ मा भने उनी फराकिलो मत अन्तरले साँसद निर्वाचित भए ।
कञ्चनपुर ३ मा भीमदत्त नगरपालिका १९, दोधारा चाँदनी नगरपालिकाका १० र बेदकोट नगरपालिकका १ वडा गरी ३० वडा छन् । लेखक बेदकोट नगरपालिका ८ का वासिन्दा हुन् ।
काँग्रेस कञ्चनपुरको सचिव भएका उनी काँग्रेसका नेपाल विद्यार्थी संघबाट राजनीति गरी आएका हुन् । शालिन र सभ्य स्वभावका उनी सबैसित समान व्यवहार गर्ने नेताका रुपमा परिचित छन् ।
जेन जी आन्दोलनका क्रममा लेखकको बेदकोट र भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको पुख्र्यौली घरमा आगजनी गरी ध्वस्त गरिएका छन् । आन्दोलनको केही दिनपछि दोधारा चाँदनीका केही युवाले कञ्चनपुर ३ मा लेखकको विकल्प नभएको धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिश चन्द सभ्य र शालिन स्वभावका नेता मानिन्छन् । चन्द काँग्रेसमा थोरै बोल्ने नेतामा पर्छन् । उद्यमी व्यवसायी चन्दले इटा व्यवसायी महासंघको नेतृत्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएका छन् । भीमदत्त नगरपालिका ३ भाँसीका चन्द बैतडी पुख्र्यौलीका हुन् ।

