
भीम रावलको डोटेली बोलाइले झलारी सभामा गुञ्जियो हाँसो, रावलले निकाई छौ क्या भनेर सोध्दा सहभागीले भने – अँ निकाई छौ, आरामै छौ


महेन्द्रनगर । नेकपा नेता भीम बहादुर रावलले एकता सन्देश सभालाई सम्बोधन डोटेली भाषामा बोलेका शब्दले सहभागीहरुमा हाँसो गुञ्जिएको छ ।
सभा सञ्चालक माधव पन्तले मञ्चमा सम्बोधनका लागि नेता रावललाई मञ्चमा आमन्त्रण गरे । सम्बोधनका लागि मञ्च पुगेपछि रावलले सहभागीतिर हेर्दै निकाई छौ क्या लगायतका डोटेली शब्द बोलेका हुन् । निकाई छौ कि बोलि सकेपछि अन्य शब्द बोल्ने क्रममा सहभागीहरु हाँसेका छन् ।

रावललको निकाई छौ क्या भन्ने शब्दमा सहभागीहरुले अँ निकाई छौ भने, केहीले आराम छौ भनेर जवाफ दिए। त्यसपछि थारु भाषा बोलेका रावलले फेरि सबैलाई सञ्चै होला भनेर सोधे । त्यति बेला केही सहभागीले हाँसेर ज्वरो आएको छ समेत भने ।
रावलले त्यति बेला मुस्कान सहित सभाको अघिल्लतिर हेरे । त्यही बेला सहभागीहरुबीच हाँसो गुञ्जियो ।

डोटेली भाषाका ती शब्दसंगै रावलले शुक्लाफाँटा र बेदकोट तालको पर्यटकीय वर्णन र देशको समसामयिक राजनीतिबारे काव्यात्मक प्रस्तुति दिए ।
शुक्लाफाँटाको सुन्दरता हेरौ, बेदकोट ताल छ ।
बुझेर जुटौ सबै जनता देशको के हाल छ ।।
स्वधिनता उठाऔ, समृद्धि ल्याऔ नेकपा भन्दैछ ।
चम्किन्छ तारा उठाऔ झण्डा जनता भन्दैछ ।।
जनताको लहर सर्वत्र उठ्यो देश नै ब्युझाउन ।
भ्रष्ट र दुष्ट परास्त गरी सुशासन चलाउन ।।
कविताका यी हरफपछि नेता रावलले कार्यक्रममा औपचारिक सम्बोधनका लागि प्रवेश गरे ।
नेकपा कञ्चनपुरले झलारी खुला मञ्चमा गरेको सभालाई रावल सहित नेताहरु गिरीराजमणी पोखरेल, भानुभक्त जोशी, खगराज भट्टले सम्बोधन गरेका छन् ।
