

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका २ दुर्गास्थानस्थित श्री केदारेश्वर माध्यमिक विद्यालयले सोमबार ७३ औ स्थापना दिवस मनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने यो विद्यालय २०१० सालमा स्थापना भएको थियो ।
मेलौली नगरपालिकाका मेयर भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर दत्त पाण्डेयले कार्यक्रमको अध्यक्षता गरे । कार्यक्रममा मेलौली नगरपालिका २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट विशिष्ठ अतिथि थिए ।


विद्यालय स्थापना दिवसमा ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका २२ जनालाई सम्मान गरिएको छ । उनीहरुलाई अभिभावक महेन्द्र देब पाण्डेले सम्मान गरे । सम्मानित सबैलाई खादा लगाएर नगद प्रदान गरियो ।
यसैगरी कपडा बैँकका सञ्चालक महेश भट्टले १८ विद्यार्थीलाई कम्बल बितरण गरे । विद्यालयका प्रधानाध्यापक हरिस चन्दले विद्यालयको प्रगति सहित आयव्यय प्रस्तुत गरे ।

बार्षिकोत्सब तथा स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता विजेता टीमलाई पुरस्कार प्रदान गरिएको छ ।

६ विद्यालयले भाग लिएको प्रतियोगितामा केदारेश्वर प्रथम, धरमघर माबि सलेना द्वितीय र कैलपालेश्वर माबि ऐँचेकाडा तृतीय भएका थिए ।
प्रतियोगितामा केदारेश्वर माबिका प्रचण्ड चन्द उत्कृष्ठ खेलाडी भएका थिए । कार्यक्रममा विद्यार्थी,शिक्षक, अभिभावक लगायतका सामाजिक अगुवा, बुद्धजीवि सहभागी भए । विद्यालयका शिक्षक प्रेमराज भट्टले कार्यक्रम सञ्चालन गरे ।

बैतडीमा उत्कृष्ठ शैक्षिक संस्थाको पहिचान बनाएको केदारेश्वर मावि स्नातक तहको पठनपाठन गराउने लक्ष्य लिएर अघि बढेको छ ।


