

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्यकारिणी समितिको कोषाध्यक्ष र सदस्यका लागि अन्ततः निर्वाचन हुने भएको छ ।
उम्मेदवारी फिर्ता गराउने समयभित्र सोमबार दिउँसोसम्म सहमति हुन नसकेपछि अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

अन्तिम नामावली सार्वजनिक भएपछि पुस १९ गते कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन हुने भएको हो । संघको अध्यक्ष सहित पदाधिकारीमा सर्वसम्मत भएपछि सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरिएको हो ।
संघको निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा मिनराज भट्ट र सदस्यमा पार्वती कुमारी विष्टले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरुको उम्मेदवारी फिर्तापछि कोषाध्यक्ष प्रदिप पाल र सिद्धराज भट्ट भिड्ने भएका छन् । कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी थियो । कोषाध्यक्षका अर्का उम्मेदवार भट्टले फिर्ता लिएपछि उनीहरु चुनावी मैदानमा बचेका छन् ।
पाल संघका कार्य समिति सदस्य हुन् । उनले उम्मेदजवारी दर्तापछि आफूले उम्मेदवारी फिर्ता नलिने बताएका थिए ।
७ सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा विष्टले फिर्ता लिएकी छन् । सदस्यमा १३ उम्मेदबार चुनावी मैदानमा भिड्ने भएका छन् ।

संघका कार्यकारी अधिकृत हेमराज भट्टले कोषाध्यक्ष र सदस्यमा एक÷एक जनाको उम्मेदवारी फिर्ता भएको बताए ।
कोषाध्यक्ष र सदस्यमा सहमति गराउन संघका अध्यक्ष पिताम्बर जोशी सहित पूर्व अध्यक्षले उम्मेदवारी दर्तापछि निरन्तर प्रयास गरेका थिए ।
संघको सदस्यका उम्मेदवार सरिता सिह भण्डारीले व्यवसायिक हक अधिकारका लागि आफूले सदस्यमा उम्मेदवारी दिएको बताइन् ।
महिला व्यवसायीका एजेण्डालाई संघमा सशक्त रुपमा उठाउने लक्ष्य लिएर भण्डारी पहिलो पटक चुनावी मैदानमा होमिएकी छन् ।
‘बजारमा महिला व्यवसायीको संख्या ठूलो छ, संघमा प्रतिनिधित्व न्यून छ, यसलाई बढाउनु पर्छ’ उनले भनिन् ।
संघको संस्थागत सदस्यमा गजेन्द्र बिक्रम थापा निर्विरोध भएका छन् । सघको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, बाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट महासचिव र सचिवमा एनपी जोशी निर्विरोध भएका छन् । संघका सदस्य एनपी जोशी सचिवमा आउन लागेका छन् । उनी संघको कार्य समिति सदस्य हुन् ।
७ सदस्यका लागि लोकराज भट्ट, गोबिन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, सरिता भण्डारी, हेमराज भट्ट, सञ्जय कुमार भट्ट र जगदीश कुमार भट्ट चुनावी मैदानमा होमिएका छन् ।
संघको १७ र्औ निर्वाचनमा अध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा निर्वाचन भएका थियो । अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध भएका थिए ।

