

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) का व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र राज विष्टको घर विद्यालय नजिक छ ।
घर नजिक भएकाले ११ वर्ष अघि विष्टलाई व्यवस्थापन समितिमा बसेर विद्यालय सुधारमा सहयोग पुगाउने इच्छा लाग्यो । उनी व्यवस्थापन समितिमा सदस्य भए ।

व्यवस्थापन समिति सदस्य भएको १५ महिनापछि समितिको नेतृत्व गर्ने अवस्था आयो । उनी त्यति बेला २२ वर्षका थिए ।
सरकारले शिक्षा ऐन संशोधन गरी व्यवस्थापन समितिमा गैर अभिभावकलाई नेतृत्व दिने व्यवस्था गरेको थियो । त्यहीं व्यवस्थापछि उनी २०७२ मा २२ वर्षको उमेरमा अध्यक्ष भए ।
समिति अध्यक्ष भएपछि विद्यालय चलाउन नसक्ने भनेर अभिभावकहरु चिन्तित भए । केहीले त विष्टलाई प्रत्यक्ष सोधे । उनले विद्यालय सुधार गरेर छाड्ने विश्वास व्यक्त गरे ।
अहिले ती अभिभावकहरु विष्ट नेतृत्वलाई लिएर २०७२ मा गरिएका चिन्ता उनी सामु पोख्छन् ।
‘यो भर्खरको केटोले के स्कुल चलाउन सक्छ, यसले स्कुल बर्बाद पार्छ भनेर चिन्तित भएका रहेछन्, अहिले वहाँहरु नै मलाई यो कुरा सुनाउनु हुन्छ’ अध्यक्ष विष्टले भने, ‘घर नजिकको विद्यालय भएकाले सुधार गरौ भनेर आएको थिए, मलाई समाज सेवामा इच्छा नै थियो, देश विकास हुनु पर्छ, त्यसका लागि सेवा गर्न पर्छ भन्ने ध्ययले आएको थिए ।’
भर्खरको केटोले विद्यालय बर्बाद पार्छ भन्ने अभिभावकको चिन्तालाई विष्टले विष्टले सुधार गरी हटाई दिएका छन् । अभिभावकको मन जित्दै उनी लगातार तेस्रो कार्यकाल अध्यक्ष छन् । अहिले ३३ वर्ष पुगेको उनको तेस्रो कार्यकाल चैतमा सकिन लागेको छ ।
तेस्रो कार्यकाल पुग्दा उनी अभिभापक भएर अध्यक्ष भएका छन । उनकी छोरी काश्जी विष्ट नर्सरीमा पढ्छिन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले आफ्ना सन्तान अनिवार्य पढाउनु पर्ने नियम विष्टले लगाएका हुन् ।
विष्टले विद्यालयलाई नमूना बनाएका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालय बनाएका छन् विष्टले ।
‘२०७१ मा म सदस्य भएर यस विद्यालयमा आएको हुँ, त्यसको एक वर्षपछि २०७२ मा अध्यक्ष हुँदा ४सय ७ विद्यार्थी थिए, शिक्षा ऐन संशोधनले म सदस्य भएको एक डेढ वर्षमै अध्यक्ष भएको थिए’ उनले भने ।
विष्ट अध्यक्ष हुँदा विद्यालय आर्थिक रुपमा कमजोर र अभिभावकले विश्वास गर्न छाडेको अवस्था थियो । उनी आफैंलाई पनि अभिभावकको विश्वास जित्नु थियो । विद्यार्थी संख्या बढाउनु पर्ने, आर्थिक सुधार र अभिभावकको विश्वास जित्नु पर्ने चुनौती विष्टको पहिलो कार्यकालको ठूलो चुनौति थियो ।
विद्यालयसित आर्थिक स्रोत नभएर निजी स्रोतका शिक्षकलाई तलब दिन नसकिने अवस्था थियो । दरबन्दीका शिक्षकको तलबबाट निजी स्रोतका शिक्षक दिनु पर्ने हुन्थ्यो ।
विद्यार्थी संख्या बढाउन विष्टले घरदैलो अभियान चलाए । विद्यालका लागि स्रोत खोजी गरे । शिक्षा मन्त्रालय र तत्कालिन जिल्ला विकास समितिमा सहयोग जुटाए ।
‘कक्षा ११ र १२ मा साइन्स र एजुकेशनको पढाई हुन्थ्यो, साइन्समा जम्मा ४ जना थिएm त्यसलाई बढाउन विद्यालयबाट पैसा दिने योजना ल्यायौ’ उनले भने,‘अहिले हामीसित साइन्सका तीन समूह छन् ।’
त्यति बेला विज्ञान पढ्न आउने विद्यार्थीलाई १५ हजार नगद दिइएको विष्टले बताए ।
अहिले नर्सरीदेखि १२ सम्म दुई हजार नौ सय ४५ विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने यस विद्यालयमा आइएस्सी एजी, सिभिल सब इन्जिनियर, सव ओभरसियर र २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमका कक्षाहरु सञ्चालन छन् ।
विष्टले दोस्रो कार्यकालमा सिटिइभिटीबाट सम्बन्धन लिएर सिभिल ओभरसियर, सब ओभरसियर र आइएस्सी एजीका कक्षा सञ्चालन गरे । दोस्रो कार्यकालमा विद्यालय नमूना छनौट भएका थियो ।
शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई नेपालका उत्कृष्ठ सामुदायिक विद्यालय सहित भारत सिक्किम र दार्जिलिङ्गसम्म अध्ययन भ्रमण गराए । चितवनको कालिका नमूना मावि सहितन दाङ्ग पोखरका उत्कृष्ठ विद्यालयको शिक्षकले भ्रमण गरे ।
शिक्षकहरुलाई भ्रमणबाट हौसला मिलेको उनले बताए । नमूना विद्यालय छनौट भएपछि विद्यालयमा प्रोजेक्टरबाट पठनपाठन थालियो । शिक्षकहरुलाई ल्यापटप दिइयो ।
अहिले स्मार्ट बोर्डबाट पठनपाठन थालिएको छ । २०८५ सम्म सबै कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्नेे लक्ष्य राखिएको छ । विद्यार्थी संख्या ५ हजार पुगाउने लक्ष्य लिइएको छ ।
विद्यालयले कमजोर आर्थिक अवस्थाका लागि विद्यार्थीलाई छात्रबृत्ति दिने गरेको छ । विद्यार्थी संख्याको २० प्रतिशत विद्यार्थीले छात्रबृत्ति पाउने गरेका छन् ।

अहिले विद्यालयमा पढ्दै कमाउँदै र विज्ञान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएका छन् । विज्ञान प्रवद्र्धन कार्यक्रम अन्र्तगत विद्यालयमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा ठूलो विज्ञान प्रयोगशाला बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कानुन विषय पठनपाठन थालिएपछि ११ र १२ मा कानुन पढाउन थालिएको छ । अहिले कक्षा ११ र १२ मा कानुन, व्यवस्थापन र शिक्षा संकायका विषय पढाई हुन्छन् ।
साधारण स्कुलले अहिले नर्सरीदेखि प्रवेश परीक्षा गरी विद्यार्थी भर्ना लिन्छ । २०६५ देखि यो विद्यालयमा अंग्रेजीमा पठनपाठन हुन थालेको हो । २०३३ मा ६ देखि कक्षा १० सम्मा साधारण विषय पढाउन विद्यालय स्थापना गरिएको थियो ।
४९ औंै वर्ष पुग्दा विद्यालय असाधारण उपलब्धि हासिल गरी अघि बढेको छ । अंग्रेजीसंगै नेपाली माध्यममा पनि पढाउने विद्यालयको योजना छ ।
विद्यालय अधिकाँश विदाका दिन पनि सञ्चालन हुन्छ । विद्यालयले शिक्षकहरुको मूल्याङ्कनका लागि विद्यार्थीहरुलाई लगबुक दिएको छ । शिक्षकहरुलाई तहगत रुपमा जिम्मेवारी दिइएको छ ।
साधारण विषय पठनपाठन हुने भएकाले विद्यालय साधारण स्कुलका नामले चिनिन थालेको हो । ‘२०२३ मा यो विद्यालय साधारण विषय पढाउनका लागि खोलियो, त्यसपछि १– ५ थपियो, साधारण विषय पढाउने भएकाले यो विद्यालय साधारण विद्यालयको नामले चिनिन थाल्यो’ विद्यालयका प्रधानाध्यापक देबराज भट्टले भने ।
विद्यालयमा कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिम पहाडका सबै जिल्ला र कर्णाली प्रदेशका विद्यार्थी अध्ययनरत छन् । विद्यालयको नर्सरीमा मात्रै १ सय ७४ विद्यार्थी छन् । ती सबै विद्यार्थीका दुई समूह छन् । विद्यालयमा एक सय हाराहारी शिक्षक कर्मचारी छन् ।
विद्यालयका अनुसार कक्षा १ देखि ४ सम्म २÷२, कक्षा ५,६ र ७ मा ३÷३, कक्षा ८ मा ४ तथा कक्षा ९ र १० मा ६÷६ सेक्सन छन् । कक्षा १ –५ मा ३५ र त्यस बाहेक सबै कक्षामा ५० विद्यार्थी एक सेक्सनमा राखिएका छन् ।
विद्यार्थीका लागि पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप नियमित छन् । हरेक शुक्रबार बुक फ्रि डे राखिएको छ । विद्यार्थीहरुलाई सम्बन्धि विषय अध्ययनका लागि फिल्ड भ्रमण लग्ने गरिएको छ ।
विद्यालयको एसईई नतिजा अपेक्षित र उत्कृष्ठ भएको प्रधानाध्यापक भट्टले बताए । गत वर्ष एसइईमा २ सय ५६ मध्ये २ सय ४९ उत्तीर्ण भएका थिए । शैक्षिक सत्र २०७९ मा २८६ मध्ये २८१ विद्यार्थी उत्तीर्ण भए भने २०७८ मा २१२ मा २०९ जना उत्तीर्ण भए ।
विद्यालयले एसईई दिने विद्यार्थीहरुका लागि विद्यालमै ४ विषयको कोचिङ्ग पढाउने गरेको छ । कोचिङ्गमा विज्ञान, गणित, ऐच्छिक गणित र अंग्रेजी विषय पढाउने गरिन्छ ।
व्यवस्थापन समितिका अध्यक्ष विष्टले समिति, अभिभावक र शिक्षकबीच त्रिपक्षीय रुपमा बलियो सहकार्य हुन सके सामुदायिक विद्यालय सुधार गर्न सकिने बताए ।
‘सामुदायिक विद्यालयको कमजोर आर्थिक अवस्था, शिक्षक कर्मचारीले आफ्ना छोरा छोरी बाहिर पढाउने, अभिभावकले चासो नदिने र विद्यालयभित्र हुने राजनीतिले पनि समस्या पार्दाे रहेछ’ उनले भने,‘त्यसका लागि समिति, अभिभावक र शिक्षकबीच बलियो सम्बन्ध हुनु पर्छ ।’
व्यवस्थापन समिति अध्यक्ष विष्ट आफैं राजनीतिमा सक्रिय छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी तत्कालिन नेकपा माओवादी केन्द्रबाट भीनपा १८ को वडा अध्यक्षमा चुनाव लडेका थिए ।
विद्यालयभित्र राजनीतिक गतिविधि पूर्ण रुपमा रोकिएको अध्यक्ष विष्टले बताए ।
दार्चुला पुख्र्यौलीका विष्ट २०४८ मा जन्मिएका हुन् । उनी शिक्षक सेवाबाट अवकाश भएका गोपालदत्त विष्ट र देबकी विष्टका ६सन्तानमा माइलो हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट समाज शास्त्रमा एमए गरेका उनको कक्षा १० सम्मको शिक्षासम्म पुख्र्यौली जन्मथला दार्चुलाको शैल्यशिखर नगरपालिकामा भएको थियो ।
माध्यमिक तह अध्ययन गर्दा उनी तत्कालिन नेकपा माओवादीका अभियानमा सहभागी भएका उनी कक्षा ११ पढ्न महेन्द्रनगर आएपछि विद्यार्थी राजनीतिमा लागेका हुन् ।
आदर्शमा कमर्श पढ्न अघिसम्म बैंकको जागिर खाने लक्ष्य राखेका उनी त्यसपछि नेता बन्ने बाटोमा हिँडे । आदर्शपछि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा बीबीएर अध्ययन गरेका थिए ।
आदर्शमा अखिल क्रान्तिकारीको प्रारम्भिक कमिटी अध्यक्ष भएपछि उनी विद्यार्थी र पार्टी राजनीतिमा आएका हुन् ।
माओवादी सशस्त्र युद्धका क्रममा अभियानमा सहभागी भएर माओवादीले देश विकास र परिवर्तन गर्ने देखेर उनी माओवादी राजनीतिमा लागेका थिए ।
सिद्धनाथ बहुमुखी क्याम्पसमा क्रान्तिकारी प्रारम्भिक कमिटी अध्यक्ष, क्रान्तिकारी जिल्ला सदस्य, सचिव हुँदै २०७१ मा जिल्ला अध्यक्ष भएका थिए ।
तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको विद्यार्थी संगठनमा पनि उनी अध्यक्ष थिए ।
२०८१ सम्म क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य भएका उनी २०७५ देखि पार्टी राजनीतिमा पनि सक्रिय थिए । माओवादी केन्द्रको जिल्ला सचिवालय सदस्य भएका उनी सिद्धनाथ बहुमुखी क्याम्पसका स्ववियुका उम्मेदवार भएका थिए ।
चुनाव हुन नसकेर स्थगित भएको थियो । महाकाली प्रादेशिक अस्पताल समिति सदस्य र शिक्षा समिति सदस्य भएका उनी हाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव छन् ।
