

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरिय खेलकूद प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयले उसुमा सबैभन्दा बढी पदक जितेपछि फेरि विवाद भएको छ ।
यस अघि गत वर्ष १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि बैजनाथले सबैभन्दा बढी पदक जितेर शिल्ड पाएको थियो । प्रतिस्पर्धा नगरी खेलाडीलाई पदक प्रदान गरिएको भन्दै गत वर्ष विवाद भएको थियो । त्यसपछि विद्यालय र आयोजक भीमदत्त नगरपालिकाबीच छलफल भएर ६ महिनापछि शिल्ड फिर्ता गरी अर्को विद्यालयलाई दिइएको थियो ।

यस वर्ष प्रतियोगितामा ६ विद्यालयले भाग लिँदा समेत विवाद गरिएको छ । यस वर्ष बैजनाथका पदक तालिकामा समावेश नगरी सचिवायले विवाद खडा गरि दिएको छ ।
उसुका पदक गणना नहुने भन्दै सचिवालले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको थियो । पदक तालिकामा पदक समावेश नगरी फेसबुकबाट सार्वजनिक गर्ने कार्यले सचिवालय शंकाको घेरामा तानिएको छ ।
यस वर्ष पनि बैजनाथ माविले उसुमा सबैभन्दा बढी ९ स्वर्ण पदक जितेको छ । सचिवालयले इभेन्टमा प्रतिस्पर्धा नभएको कारण देखाएर गणना नहुने बताएपछि विवाद बाहिरिएको छ ।
पदक गणना नहुने भएपछि बैजनाथ माविका व्यवस्थापन अध्यक्ष गणेश खत्री, पीटीए अध्यक्ष नवराज भट्ट र प्रधानाध्यापक नरेन्द्रराज जोशी शिक्षक सहित प्रतियोगिता सचिवालय पुगेका छन् ।
उनीहरुले खेलाडीले खेलाडीले प्रतिस्पर्धा गरी जितेका सबै पदक गणना हुनु पर्ने बताएका छन् । सचिवालयमा बैजनाथ मावि, निर्णायक समिति,निर्देशक समितिका प्रतिनिधिले विहान छलफल गरेका छन् ।
बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष खत्रीले विद्यार्थीले प्रतियोगितामा भाग लिएर जितेका सबै पदक गणना हुनु पर्ने बताए ।
‘यो प्रतियोगितामा ६ विद्यालयले उसुमा भाग लिएका छन्, विद्यालय सहभागिताको आधारमा प्रतिस्पर्धा भएको छ, त्यस आधारमा विद्यार्थीले पदक जितेका छन्, त्यस अनुसार ती पदक गणना हुनु पर्छ’ उनले भने ।
विद्यालयले गत वर्ष प्रतिस्पर्धी अर्को विद्यालय नभएका कारण ६ महिनापछि शिल्ड फिर्ता गरिएको स्मरण गर्दै उनले यस वर्ष प्रतिस्पर्धी विद्यालय भएकाले कुनै पनि हालतमा गणना हुनु पर्ने बताए ।
‘गत साल त हाम्रो विद्यालयले मात्रै भाग लिएको थियो, अरु प्रतिस्पर्धी थिएन, त्यसैले ठिकै छ भनेका हौ, शिल्ड फिर्ता ग¥यौ, यस वर्ष अरु प्रतिस्पर्धी छन्, प्रतिस्पर्धी छन्, हामी कुनै पनि हालतमा गणना हुनु पर्ने पक्षमा छौ’ उनले भने ।
प्रतियोगितामा बैजनाथ माविले उसुमा ९ स्वर्ण र ३ रजत जितेको छ । यसैगरी इन्टरनेशन पब्लिक स्कुल २ स्वर्ण, ८ रजत, १ कास्य, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल ) १ स्वर्ण, २ कास्य, लिटिल बुद्ध एकेडेमी १ कास्य र वेष्टर्न पब्लिक एकेडेमीले १ कास्य पदक जितेको छ ।
प्रतियोगिताका प्रतिस्पर्धी विद्यार्थीलाई व्यक्तिगत रुपमा जितेका पदक दिइने भए पनि पदक तालिकामा गणना नहुने भएको हो ।
बिहीबार उसुको सबै इभेन्टका फाइनल सकिए पनि शुक्रबार विहानसम्म सचिवालयले पदक गणना राखेको थिएन् । सचिवालयका केही सदस्यले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल फेसबुकमा पदक गणना नहुने भनेर राखेपछि विवाद बाहिर आएको हो ।

बैजनाथ माविले सचिवालयका सदस्यले तालिकामा पदक समावेश नगरी फेसबुकमा राखेर प्रचार गर्ने कार्य असल नियतले नभएको बताए ।
बैजनाथ माविका पीटिए अध्यक्ष नवराज भट्टले पदक तालिकामा समावेश नगरी बाहिर प्रचार गर्ने विषय शंकास्पद भएको बताए ।
‘पहिला यी पदक त्यो तालिकामा राखिनु पथ्र्यो, कसैले उजुरबाजुर गरेको भए त्यसमा छानबिन हुनु पर्ने हो, यहाँ त सचिवालयका सदस्यले फेसबुकबाट यसो भयो भने, त्यसो भयो भने, यो भन्नु भनेको राम्रो होइन’ उनले भने,‘यो शंकास्पद छ ।’
पीटीए अध्यक्ष भट्टले बैजनाथ माविले यस वर्ष कुनै पनि हालतमा पदक गणना नछाड्ने बताए । ‘जे सुकै होस,प्रतिस्पर्धा भएको छ, पदक गणना हुनु पर्छ’ उनले भने ।
सचिवालयमा विहान छलफलमा कानुनी व्यवस्था स्पष्ट नभएकाले गणना गर्न नसकिने कारण देखाएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशीले बताए ।
‘विहान छलफल भयो, त्यहाँ कानुनी स्पष्टता नभएको कुरा आयो, त्यसका आधारमा गणना नगरौ भन्ने जस्तो कुरा भयो, हामीले यसलाई मान्दैनौ भनेका छौ’ उनले भने ।
बैजनाथ माविका उसु खेलाडीहरुले जितेका पदक गणनामा समावेश गरिनु पर्ने बताए ।
प्रतियोगितामा स्वर्ण विजेता बैजनाथका रोशन चन्दले ६ विद्यालयबीच प्रतिस्पर्धा गरिएकोले पदक गणना हुनु पर्ने बताए । ‘जितेको पदक पाउनु पर्छ, त्यसका आधारमा हामीले शिल्ड पाउनु पर्छ’ उनले भने ।
प्रतियोगितामा ओलुतर्फ छात्रा÷छात्रा ३ र सान्सोतर्फ छात्र छात्राका ३÷३ इभेन्ट समावेश गरिएका थिए । ती सबै इभेन्टमा १२ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
बैजनाथ माविका उसु प्रशिक्षक प्रेम बहादुर बिकेले निर्देशिका अनुसार पदक गणना हुनु पर्ने बताए । ‘६ स्कुल सहभागी छन्, निर्देशिका अनुसार ३ स्कुल भए पनि हुन्छ’ उनले भने ।
निर्देशिले पदकका लागि इभेन्टसित सरोकार नराख्ने उनले बताए ।
प्रतियोगिता सचिवालयका सदस्य दिवाकर जोशीले प्रत्येक इभेन्टमा पोजिसिन होल्डर प्रतिस्पर्धी नभएकाले जितेका पदक गणना नहुने बताए ।
‘प्रतियोगितामा ६ विद्यालयले भाग लिएको छ, पदक गणनाका लागि पोजिसिन होल्डर हुनु पर्छ, यो खेलको अन्तर्राष्ट्रिय नियम हो’ उनले भने,‘ त्यस कारण विद्यार्थीलाई पदक दिइए पनि गणना चाहिँ हुँदैन ।’
प्रतियोगिताको निर्णायक समिति (जुरी) मा नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्द, कराँते प्रशिक्षक बिमल खडायत, कबड्डी प्रशिक्षक तारा सिह भाट, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, शाखाका अधिकृत दिपेन्द्र विष्ट र प्राविधिक सहायक कलावति मिश्र भट्ट छन् ।
सचिवालयमा बिहान जुरीका सदस्य सहित जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट सहित आमन्त्रण गरी छलफल गरिएको छ ।
नगर खेलकूद विकास समितिका अध्यक्ष चन्दले पदक गणना विवादबारे राष्ट्रिय खेलकूद परिषद्लाई जानकारी गराएको बताए । ‘त्यहाँबाट के निर्णय आउँछ, त्यसका आधारमा अघि बढ्छौ’ उनले भने ।
