

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरिय खेलकूद प्रतियोगितामा उसु खेलमा जितेका पदक गणना नहुने भएपछि बैजनाथ माध्यमिक विद्यालय आक्रोशित भएको छ ।
बैजनाथ माविले प्रतियोगितामा उखुमा ९ स्वर्ण सहित १० पदक जितेको छ । ती मध्ये दुई स्वर्ण बाहेक अन्य स्वर्ण गणना समावेश नहुने भएपछि विवाद भएको छ ।
विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन र पीटीएका पदाधिकारी पदक गणना हुनु पर्ने भन्दै विहानदैखि कबर्ड हलमा छन् ।
पदक गणनाका लागि विद्यार्थी सहितले शुक्रबार प्रतियोगिताका खेल अवरुद्ध गरेका छन् ।

कबर्ड हलस्थित भलिबल प्रशिक्षण केन्द्रमा महेश्वर माध्यमिक विद्यालय सुकासाल र जनज्योति मावि भासीको खेल बिथोलि दिएको छ ।
विद्यार्थीहरु मैदान प्रवेश गरेपछि खेल अवरुद्ध भएर स्थगित गरिएको छ ।
भलिबलपछि उनीहरु अन्य खेलहरु पनि अवरुद्ध गर्न लागेका छन् । कबड्डी अवरुद्ध गर्न जाँदा उनीहरुलाई सम्झाएर फर्काइएको छ ।
गत वर्ष पनि बैजनाथले उसुमा स्वर्ण पाएको थियो । पछि विवाद भएपछि शिल्ड फिर्ता भएको थियो ।
विद्यालयका पीटीए अध्यक्ष नवराज भट्टले पदक गणना नहुने भएपछि विद्यार्थीहरु आक्रोशित भएको बताए।
