

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरिय खेलकूद प्रतियोगितामा उसु खेलका पदकलाई यस वर्ष पनि विवादमा मुछिएको छ ।
गत वर्ष विवाद भएपछि पदक तालिकाबाट पदक संख्या हटाएर बैजनाथ माविलाई दिइएको शिल्ड ६ महिनापछि फिर्ता गरिएको थियो ।
यस वर्ष पनि फेरि बैजनाथ माविले उसुमा सबैभन्दा बढी स्वर्ण जितेपछि विवाद गरिएको छ । यो विवादमा प्रतियोगिताको सचिवालय मुछिएको छ । सचिवालयले पदक गणना समावेशन गरी सामाजिक सञ्जाल फेसबुकबाट प्रचार गरी विवाद उब्जाएको पाइएको छ ।
पदक तालिकामा समावेश गर्न अघि सचिवालयले फेसबुकबाट व्यक्तिगत धारणा सार्वजनिक गरेपछि विवाद बाहिर आएको हो ।
बैजनाथ माविले प्रतियोगितामा उसुमा ९ स्वर्ण सहित १० पदक जितेको छ । बैजनाथ मावि ती सबै पदक गणना हुनु पर्ने पक्षमा छ ।
प्रतियोगिताको सचिवालयले पदक गणना तालिकामा समावेश नगरी सामाजिक सञ्जाल फेसबुकबाट गणना नहुने धारणा सार्वजनिक गरेको थियो ।
सचिवालयले विवाद नहुँदै फेसबुकबाट सार्वजनिक गरी विवाद गरेपछि विद्यालयले शुक्रबार विहान सचिवालय पुगेर गणना हुनु पर्ने माग राखेको हो ।
गत वर्ष प्रतिस्पर्धी नभएको भन्दै ६ महिनापछि नतिजा संशोधन गरी बैजनाथ माविलाई दिइएको शिल्ड खोसिएको थियो ।
यस वर्ष नतिजा सार्वजनिक अघि नै विवाद देखिएको हो । यसमा सचिवालयका शंकास्पद भूमिका देखिएको छ ।
शुक्रबार विहानसम्म पदक तालिकामा समेत संलग्न नगरी बिहीबार साँझ फेसबुकबाट धारणा सार्वजनिक गरिएपछि विद्यार्थी शिक्षकले यसको आलोचना गरेका छन् ।
उसुमा ६ विद्यालय सहभागी भएकोमा बैजनाथले सबैभन्दा बढी स्वर्ण जितेको छ ।

यस अघि कृष्णपुर नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा उशुका पदक गणनामा विवाद भएको थियो ।
पदक विजेता विद्यालयको विरोधपछि गणना गरी नतिजा सार्वजनिक गरिएको थियो ।
बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज जोशीले विवादपछि कृष्णपुर नगरपालिकाका शिक्षा शाखासित पदक गणना सम्बन्धि जानकारी लिएको बताए ।
‘त्यहाँ पनि यस्तै प्रकृतिको समस्या भएको रहेछ, पछि कुराकानी गरी पदक गणना गरिएको रहेछ’ उनले भने ।
कृष्णपुर र भीमदत्त दुबै स्थानीय तह भएको नियम कानुन समान हुनु पर्ने उनले बताए । ‘कृष्णपुरमा गणना हुन सक्छ भने हाम्रो यहाँ किन हुनु हुँदैन’ उनले भने ।
पदक गणना नहुने भएपछि बैजनाथ माध्यमिक विद्यालय आक्रोशित भएको छ । बैजनाथ माविले प्रतियोगितामा उखुमा ९ स्वर्ण सहित १० पदक जितेको छ । ती मध्ये दुई स्वर्ण बाहेक अन्य स्वर्ण गणना समावेश नहुने भएपछि विवाद भएको छ ।
विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन र पीटीएका पदाधिकारी पदक गणना हुनु पर्ने भन्दै विहानदैखि कबर्ड हलमा छन् । पदक गणनाका लागि विद्यार्थी सहितले शुक्रबार प्रतियोगिताका खेल अवरुद्ध गरेका छन् ।
कबर्ड हलस्थित भलिबल प्रशिक्षण केन्द्रमा महेश्वर माध्यमिक विद्यालय सुकासाल र जनज्योति मावि भासीको खेल बिथोलि दिएको छ ।
विद्यार्थीहरु मैदान प्रवेश गरेपछि खेल अवरुद्ध भएर स्थगित गरिएको छ ।
भलिबलपछि उनीहरु अन्य खेलहरु पनि अवरुद्ध गर्न लागेका छन् । कबड्डी अवरुद्ध गर्न जाँदा उनीहरुलाई सम्झाएर फर्काइएको छ ।
गत वर्ष पनि बैजनाथले उसुमा स्वर्ण पाएको थियो । पछि विवाद भएपछि शिल्ड फिर्ता भएको थियो । विद्यालयका पीटीए अध्यक्ष नवराज भट्टले पदक गणना नहुने भएपछि विद्यार्थीहरु आक्रोशित भएको बताए ।
