

महेन्द्रनगर । प्रारम्भिक बाल विकास तथा घर–विद्यालय साझेदारीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षाका साथ सञ्चालन गरिएको सार्क विन्टर क्याम्प सकिएको छ ।
सार्क एजुकेशन फाउन्डेशनले प्रारम्भिक बाल विकासका बालबालिका र उनीहरुका अभिभावकलाई लक्षित गर्र्दै क्याम्प सञ्चालन गरेको थियो ।


विद्यालयका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले प्रारम्भिक बाल कक्षा उमेरका बालबालिकालाई खेल, सञ्चार, कला, सामाजिक व्यवहार तथा आधारभूत जीवन सीप सिकाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको बताए ।

‘यसबाट अभिभावकहरूको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया क्याम्पको मुख्य उपलब्धि भएको छ’ उनले भने ।
समापन कार्यक्रममा मुख्य अतिथि सिमी स्टोरीटेलरले बालबालिकामा सिर्जनशीलता र आत्मविश्वास विकास गर्न विद्यालयले सञ्चालन गरेको क्याम्प प्रशंसनीय रहेको उल्लेख गरिन् ।

क्याम्पमा अभिभावक सहभागिता सत्र, सिर्जनात्मक प्रस्तुतीकरण, अन्तरक्रियात्मक सिकाइ, शारीरिक गतिविधि र खेल गरिएका छन् ।


