

महेन्द्रनगर । कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबार राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् ।
विघटित प्रतिनिधि सभाका काँग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा सहितका दलले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसबाट पूर्व जिल्ला सभापति हरि प्रसाद बोहराले उम्मेदवारी दिएका छन् । बोहराको उम्मेदवारी अन्तिम अवस्थामा टुङ्गो लागेको हो । टिकट पाएपछि मंगलबार जिल्ला फर्किएका बोहराले मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हु्न् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय पुग्न बोहरा ढिलो हुने सम्भावनालाई मध्यनजर गरी अशोक बहादुर साउँदलाई वारेश बनाएर काँग्रेस नेता कार्यकर्ता उम्मेदवारी दर्ताका लागि भित्र प्रवेश गरेका थिए ।
काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद लगायत नेताहरु दिवाकर पाण्डेय, भोजराज बोहरा, नाफू सिह साउँद, बीर बहादुर सुनार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगे ।
एमालेबाट पूर्व सासद डा.दिपक प्रकाश भट्टले उम्मेदवारी दिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेल, पूर्व उप सभामुख भोजराज जोशी, एमाले पूर्व जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतका नेताहरु सहित डा. भट्टले उम्मेदवारी दर्ता गराए ।

भट्ट यस अघि २०७४ मा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए । २०७९ मा उम्मेदवारका लागि सिफारिश गरिए पनि केन्द्रीय सदस्य निरुदेबी पाल चुनाव लडेकी थिइन् । यस पटक समानुपातिक सूचीमा परेपछि डा. भट्टलाई उम्मेदवार बनाएको हो ।
नेपाली कम्युनिष्ट पार्टीबाट मान बहादुर सुनार उम्मेदवार भएका छन् । यस अघि उनी २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य जितेर राज्यमन्त्री भएका थिए ।
सुदूरपश्चिम सरकारका पूर्व मन्त्री प्रकाश रावल सहित नेताहरु हरक सिह धामी, देबेन्द्र ढुङ्गाना, प्रताप तिरुवा लगायत उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।
निर्वाचन अधिकृत कार्यालयमा एमाले नेताहरु उम्मेदवारी दर्ता गरी बाहिर आएपछि नेकपा नेताहरुसित भेटघाट भएको छ । त्यस क्रममा नेताहरुले केही समय कुराकानी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र सिह महता, राप्रपाका पूर्ण बहादुर चन्द, उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल, श्रम संस्कृति पार्टीका गंगादत्त जोशी, नेकपा माओवादी(विप्लव) का विष्णु प्रसाद उपाध्यय, नेकपा संयुक्तका कर्ण बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँबर, नेपाल मजदुर किसान पार्टीका मिन गिरी, मितेरी नेपाल पार्टीका किरन थापा, आम जनता पार्टी लक्ष्मी कुमारी विष्ट भट्ट र राष्ट्रिष्य मुक्ति पार्टीका लोकराज भट्टले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
थानेश्वर लेखक, हर्क बहादुर ऐर र बीर सिह धामीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये लेखक जागौ युवा अभियानका संयोजक हुन् ।

