

महेन्द्रनगर । विघटित प्रतिनिधिका सभा दुई ठूला दल काँग्रेस र एमालेले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक तयारी थालेका छन् । ती दुबै दलले बिहीबार जिल्ला स्तरीय बैठक गरी निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार लगायतका कमिटी बनाउने निर्णय गरेका छन् ।
नेपाली काँग्रेसले कञ्चनपुरमा निर्वाचन प्रचारप्रसारका लागि समिति बनाएको छ । काँग्रेस पार्टी कार्यालयमा बिहीबार उम्मेदवार सहित बसेको जिल्ला समिति बैठकले उप सभापति मिन बहादुर सिहको नेतृत्वमा ५ सय १ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । बैठकले जिल्ला सचिव भीमराज भट्टको नेतृत्वमा जिल्ला सचिवालय बनाएको छ ।

काँग्रेसले माघ १५ गतेभित्र तीन ओटै क्षेत्रका सबै ९२ वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।
बैठकमा सबै क्षेत्रले निर्वाचन तालिका (सेडुयल) तयार गर्ने, माघ १५ गतेभित्र मातहतका सबै समिति अनिवार्य रुपमा समिति बैठक राख्नु पर्ने र काँग्रेसका तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई मतदान गर्न सहयोगका लागि आग्रह गर्ने निर्णय गरिएको सचिव भट्टले जानकारी दिए ।
कञ्चनपुर १ मा गोपी प्रसाद उपाध्यय, २ मा एनपी साउँद र ३ मा हरि बोहरा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । उनीहरुमध्ये बोहरा र उपाध्यय पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् ।
बोहरा काँग्रेस कञ्चनपुरका पूर्व सभापति हुन् । कञ्चनपुर ३ मा काँग्रेसले पूर्व गृहमन्त्री रमेश लेखकलाई टिकट नदिएर
बोहरालाई उम्मेदवार बनाएको हो । लेखक यस क्षेत्रमा २०५६ देखि निर्वाचन लड्दै आएका छन् ।
लेखकले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन काँग्रेस सभापति गगन थापा र उप सभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको थियो ।

लेखकले टिकट नपाएपछि काँग्रेसले कञ्चनपुर ३ मा अन्तिममा मात्रै उम्मेदवारी दर्ता गराएको थियो ।
महेन्द्रनगर । एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला अध्यक्ष लक्ष्मी बुढालाई मूल निर्वाचन परिचालन कमिटीको जिम्मा दिएको छ । एमाले जिल्ला सचिवालय बैठकले बिहीबार जिल्ला अध्यक्ष बुढाको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो ।
बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ । पाल प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक साँसद छन् ।
उम्मेदवारी दर्तापछि बिहीबार पार्टी कार्यालयमा तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवार सहित बसेको सचिवालय बैठकले सबै क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाएर जाने लगायतका निर्णय गरिएको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए ।
एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ्ग, २ मा बचन बहादुर सिह र ३ मा डा. दिपक प्रकाश भट्ट उम्मेदवार छन् । उनीहरुमा तामाङ्ग निर्वतमान साँसद हुन् ।
२०७९ को निर्वाचनमा उनी काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विना मगरलाई पराजित गरी निर्वाचित भएका हुन् ।
एमालेले यस पटक तामाङ्ग सुरुमा टिकट नदिई पछि नेता र कार्यकर्ताको सुझावपछि निर्णय हेरेफर गरेको हो । एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिने निर्णय गरेको थियो ।
तामाङ्ग २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर सुदूरपश्चिम सरकारको आर्थिक मन्त्री भएका थिए । उनी एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
कञ्चनपुर २ का उम्मेदवार सिह पहिलो पटक संघीय संसदका लागि चुनावी दौडमा छन् । उनी २०७९ मा प्रदेश सभा सदस्य चुनाव लडेका थिए । सिह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष हुन् ।

