

महेन्द्रनगर । कञ्चनपुर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट तिर्थराज चटौत चुनावी मैदानमा छन् । राप्रपाका केन्द्रीय सदस्य चटौत बहुदल स्थापनापछि दोस्रो पटक संघीय निर्वाचन प्रतिस्पर्धामा छन् । यस अघि उनी २०६४ मा तत्कालिन कञ्चनपुर ३ बाट संविधान सभा निर्वाचन लडेका थिए ।
व्यवसायिक पृष्ठभूमिका चटौत यस बहुदल स्थापनापछि २०४९ को स्थानीय निकाय निर्वाचनमा भीमदत्त नगरपालिका ४ को वडा अध्यक्ष निर्वाचित भएका थिए । काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित हुन अघि उनी २०४३ मा तत्कालिन जिल्ला पञ्चायतको उप सभापति भएका थिए ।

४० को दशकमा पञ्चायत राजनीतिमा आएका चटौत २०५१ मा काँग्रेसभित्रको किचलोपछि राप्रपा भएका थिए । अहिले काँग्रेसभित्र किचलो भएका बेला उनी संघीय साँसदको उम्मेदवार भएका छन् ।
‘२०४९ मा काँग्रेसबाट वडा अध्यक्ष भएको थिए, २०५१ मा पार्टीभित्र किचलो देखेर छाडे, अहिले फेरि त्यहाँ किचलो भएको बेला उम्मेदवार भएको छु’ उनले भने ।
उम्मेदवार चटौतले क्षेत्र नं. २ मा आफूले जनताको साथ पाउने अपेक्षा राखे । जनताले नयाँ शक्तिलाई साथ दिने भनेकाले स्वभाविक रुपमा मलाई साथ हुन्छ’ उनले भने ।
चटौतले आफू निर्वाचित भए राज्यका कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छनु । उम्मेदवारी दर्तापछि गरिएको पत्रकार सम्मेलनमा उनले सो घोृषणा गरेका हुन् ।
पार्टीले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकाले पार्टी र जनतालाई शिरोधार्य गरी अघि बढ्ने उनले बताए ।
चटौत महेन्द्रनगरस्थित तीन तारे होटेल ओपेरा र शिवशक्ति ढुवानी सेवाका सञ्चालक हुन् । यस बाहेक चटौत अन्य व्यवसायमा पनि छन् । ओपेरा र शिवशक्ति ढुवानीमा पाँच सय भन्दा बढी कार्यरत छन् ।
चटौत बालकालदेखि व्यवसायी बन्ने लक्ष्य लिएर अघि बढेका हुन् । पारिवारिक पेश व्यवसायमा संलग्न भएर उनी अहिले राजनीतिमा पनि सक्रिय भएका छन् ।
२०१० मा डडेल्धुरा बगरकोटमा जन्मिएका चटौत घर परिवारका काइलो छोरा हुन् । प्रारम्भिक शिक्षा गाउँबाट सुरु गरेका उनले कक्षा ६ देखि १० सम्म डडेल्धुरास्थित महेन्द्र मावि खलंङ्गाबाट गरे । घरबाट तीन घण्टा टाढा विद्यालय भएकाले उनले बाल्यकालमा डेरामा बसेर अध्ययन गरेका थिए ।

महेन्द्र माविबाट २०२६ मा एसएलसी गरेका उनले काठमाडौंको महेन्द्र रत्नबाट प्रविणता प्रमाण पत्र तह र भारतको नैनीबाट बीकम गरेका छन् ।
‘हाम्रो पुख्र्यौली पेशा नै व्यापार थियो, म पनि बिजिनेश गर्ने भनेर पढे’ उनले भने,‘समयले राजनीतिमा जोडि दियो, अहिले त संघीय साँसदको प्रतिस्पर्धामा छु ।’
चटौतका बुवा जगन्नाथ चटौतले १९९८ मा बगरकोटबाट व्यापार सुरु गरेका हुन् । बगरकोटबाट व्यापारलाई टनकपुर, ब्रह्मदेब हुँदै महेन्द्रनगर पुगाएर विस्तार गरेका थिए ।
उनका बुवाले २०१८ मा महेन्द्रनगरमा व्यापार सुरु गरेका थिए । बह्मदेब मण्डीमा आगजनी भएपछि बजार महेन्द्रनगर सारिएको थियो । चटौत परिवार त्यसपछि महेन्द्रनगर आएर व्यवसायमा लागेका हुन् ।
महेन्द्रनगरमा व्यापार सुरु भएपछि मात्रै तिर्थराज आएका हुन् । भारतबाट बीकम सकेर उनी व्यवसायमा लागेका थिए । उनी २०३२ मा पहिलो पटक महेन्द्रनगर अएका थिए । ‘पढाई सकेपछि २०३२ मा महेन्द्रनगर आको थिए, त्यति बेला हाम्रो कपडा र किराना पसल थियो’ चटौतले भने ।
चटौतले विदेशी समान र ट्रान्सपोर्टको कारोबार बढाए । त्यसपछि यातायात व्यवसाय थालेका उनले सुदूरपश्चिममा पहिलो पटक महेन्द्रनगर काठमाडौं बस चलाएका थिए ।
अहिले जल विद्युत आयोजनाको समेत काम गर्दै चटौत सहितले २०४७ मा शिव शक्ति ढुवानी सेवा खोलेका थिए । यसमा चटौत सहित खगेश्वर बोहरा र दिनेश भण्डारी साझेदार छन् । भण्डारीको केही वर्ष अघि निधन भएको थियो ।
२०६४ को संविधान सभा निर्वाचनपछि उनी पहिलो पटक चुनाव लड्न लागेका चटौत राप्रपाको केन्द्रीय सदस्य र सुदूरपश्चिम स्थानीय तह परिचान विभाग सदस्य छन् ।
उनका श्रीमति र दुई छोरा छन् । जेठा छोरा दिनेश चटौत बिर अस्पतालमा रेडियोलोजिष्ट र कान्छा सुशिल व्यवसायमा छन् ।
चटौत २ नम्बर क्षेत्रमा उम्मेदवार भएपछि २०४९ को निर्वाचनको सम्झना आएको बताउँछन् । ‘मलाई त्यो बेला जसरी मत आको थियो, अहिले पनि म त्यहीं आशा राख्छु’ उनले भने,‘त्यो निर्वाचनको मलाई झलझली याद आई रहेको छ ।’
कञ्चनपुर २ मा चटौतसित काँग्रेसका एनपी साउँद, एमालेका बचन बहादुर सिह लगायत १९ जना प्रतिस्पर्धी छन् ।
‘उम्मेदवारी दिएपछि म त्यो क्षेत्रमा गएर हेरे, बुझे, मेरो पक्षमा राम्रो वातावरण देख्दैछु’ उनले भने ।
