
साँसद भएपछि जनताले मलाई खोज्न पर्दैन, म आफैं सेवक भएर आउनेछु– कञ्चनपुर २ का एमाले उम्मेदवार बचन बहादुर सिंह

महेन्द्रनगर । कञ्चनपुर २ का एमाले उम्मेदवार बचन बहादुर सिहले फागुन २१ गतेको चुनाव हार जितको नभएर देश जोगाउने वा विदेशीको चंगुलमा फसाउनेबीचको लडाई भएको बताएका छन् ।
देशको पक्ष र राष्ट्रिय स्वाधिनताको पक्षका हरेक पार्टीका उम्मेदवारलाई जनताले मतदान गरी जिताउनेमा आफू विश्वस्त भएको सिंहको भनाई छ ।

विकल्प दैनिकसित कुराकार्की गर्दै उम्मेदवार सिहले आफूले चुनाव जितेर साँसद नभई जनताको सेवक हुन चाहेको उल्लेख गरे ।
‘यो देश अहिले विषम परिस्थितिको सामना गरिरहेको छ । यो विषम परिस्थितिको सामना गरिरहेको बेलाको विशेष खालको चाहिँ निर्वाचन माटोको पक्षमा हुने र देशलाई समाप्त गर्ने र देशलाई चाहिँ विदेशीको पोल्टामा चंगुलमा चाहिँ लैजानेहरूको बीचको लडाई हो’ उनले भने, ‘त्यसो हुँदा त्यो नेपाली जनताले यतिबेला देशको पक्षमा र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको हरेक पार्टीको उम्मेदवारलाई चाहिँ अहिलेको मतदाताले चाहिँ चुनेर पठाउनु हुनेछ भन्ने कुरामा मेरो विश्वास छ ।’
चुनावमा मतदाताले आग्रह या कसैको अनुग्रहमा नभएर देश र राष्ट्रलाई माया गर्ने उम्मेदवार र त्यसको पक्षमा मतदान गर्नेमा आफू विश्वस्त भएको बताए ।
जेन जी आन्दोलनको पवित्र लक्ष्यलाई घुसपैठ गरी विध्वंशमा परिणत गरी स्वार्थ पूर्ति गर्न खोजिएको सिहले बताए ।

‘तपाईं भदौ २३ र २४ गतेको चाहिँ विनाशकारी चाहिँ एक प्रकारको चाहिँ जुन सिंहदरबार जलाउने विश्व सम्पदामा सूचीमा रहेको चाहिँ सिंहदरबार जस्तो आग लाग्नुपर्ने संविधान व्यवसायी औद्योगिक कोरिडोर इण्डष्ट्रिीजहरू चाहिँ जल्नु पर्ने जुन खालको कन्डिसन आयो, त्यो केवल अहिले नेपालमा रहेका तपाईंको चाहिँ १३ देखि २८ वर्ष मुनिका युवाहरुको चाहिँ मात्र त्यो आन्दोलन थियो त ’ उनले भने, ‘त्यो आन्दोलनको पवित्र उद्देश्य त यो मुलुकमा भ्रष्टाचार रहित हुनु पर्दछ सुशासन हुनुपर्दछ विधिको शासन हुनुपर्दछ भन्ने थियो, तर त्यहाँ त्यस्तो अवस्था हुन पुग्यो ।’
उम्मेदवारी दर्तापछि मतदाता भेटघाटमा व्यस्त भएका उनले जनताले आफूलाई स्वभाविक उम्मेदवारका रुपमा हेरेको पाइएको बताए ।
‘एनपीजीलाई धेरै पटक त्यो ठाउँमा पुगाई सक्यौ, अरुको अहिले बेला भएको छैन, तपाई थोरै मतले पछाडि परेको हो, त्यस कारण यस पटक तपाईलाई स्वभाविक रुपमा हेर्छौ भन्ने छ’ उनले भने ।
देश हार्ने र जित्ने चुनाव भएकाले जनताले देश जित्ने गरी आफूलाई यस पटक पुरस्कार दिने आश सिंहले लिएका छन् । जनताले चुनावमा विवेक प्रयोग गरी निर्णय लिने विश्वास व्यक्त गरे ।
उम्मेदवार सिहले हरके चुनावमा सबै उम्मेदवारले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, जङ्गली जनावर आक्रमण, सुकुम्बासी, अव्यवस्थित बसोबासी, आरक्ष पीडित, भूमिहिन, भूमिहिन दलित समस्या प्रतिवद्धता गर्दै आएको उल्लेख गर्दै आफू निर्वाचित भए यी समस्याको क्रमिक रुपमा समाधान खोज्ने बताए ।
सिंहले साँसद निर्वाचित भएपछि जनताले आफूलाई खोज्नु नपर्ने र आफूले खोज्दै आउने बताएका छन् ।
‘जनताको भावना र समस्यालाई खोज्दै आउने, एउटा साँसदको रुपमा होइन, जनताको सेवक रुपमा आउनेछु’ उनले भने ।
कञ्चनपुर २ मा एमालेका सिह सहित काँग्रेसका एनपी साउँद, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दिपक बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का तिर्थराज चटौत लगायत दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
