

महेन्द्रनगर । कञ्चनपुर १ का एमाले उम्मेदवार तारालामा तामाङ्गले गैर कानुनी र आर्थिक लाभ हुने काम नगरेको बताएका छन् । उनले आफूले तस्बिर खिच्न नजानेको उल्लेख गरे ।
‘मैले गैर कानुनी काम र आर्थिक लाभ हुने काम गरेको छैन, निर्वाचन क्षेत्रमा घुम्दा मान्छे त राम्रो हो भन्छन्’ बेलौरीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘यस पटक फेरि जनतामा गएको छु,वहाँहरुले नै निर्णय लिने कुरा हो ।’

कञ्चनपुर १ का निवर्तमान साँसद तामाङ्ग फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य चुनावका लागि प्रतिस्पर्धामा छन् । यस अघि काँग्रेस माओवादी गठबन्धनलाई फराकिलो मत अन्तरले हराएका उनी यस पटक पनि जित हुनेमा विश्वस्त छन् । ‘यो सब जनताको हातमा छ, विगत जस्तो नभए पनि जित हुन्छ’ उनले भने ।
एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तामाङ्गले चुनाव जितेपछि आफूले जनताको समस्या समाधानका लागि इमान्दार प्रयास गर्ने उल्लेख गर्दै भने यस पटक विगत जसरी संसदमा गएर सिक्नु पर्ने अवस्था नभएको बताए ।
‘२०७९ मा निर्वाचित भएर संसदमा पुगेपछि मेरो कार्यक्षमता र कार्यशैली बढेको छ, यस पटक केही सिक्नु परेको छैन’ उनले भने ।

पहिलो पटक संघिय साँसद निर्वाचित भएर जाँदा आफूलाई केही महिना सिक्नु लागेको उनले उल्लेख गरे ।
उम्मेदवार तामाङ्गले निर्वाचन क्षेत्रमा विकास निर्माण, सीमा समस्या, शुक्लाफाँटा आरक्ष पीडितका समस्या, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका समस्या समाधानका लागि पहल गर्दै आएको बताए ।
तामाङ्गले फोटो खिचेर फेसबुकमा हाल्ने बानी आफ्नो नभएको र आफूले फोटो खिच्न नजान्ने बताए ।
‘रिछाहा पुनर्वास सडक कस्तो थियो, त्यसमा बहु बर्षे ठेक्का लगाइयो, ४० करोड बजेट थियो, पत्रकार सम्मेलनमा उनले भने, ‘चिनी मिल तिर जाने काम पनि भएको छ, मैले त्यहाँ गएर फोटो खिच्न जानेको छैन’ उनले भने ।
प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री हुँदा आफूले निर्वाचन क्षेत्रमा खेलकूद विकासका लागि काम गरेको बताए ।
निर्वाचन क्षेत्रका विकासका लागि सधैं इमान्दार भएर सक्रिय रुपमा लाग्ने भन्दै उम्मेदवार तामाङ्गले जनतालाई चाहिने योजनाको फाइल खोल्नु पर्ने बताए ।
‘देशमा अरु के को फाइल खोलौ भन्दैछन, म जनतालाई चाहिने योजनाको फाइल खोलौ भन्छु’ उनले भने ।

